बैंकहरुमा नगदको चरम अभावपछि दुई दिनमै राष्ट्र बैंकबाट ४१ अर्ब रुपैयाँ सापटी

भाद्र २३ काठमाण्डौं ___ बैंकहरुमा नगदको चरम अभावपछि दुई दिनमै राष्ट्र बैंकबाट ४१ अर्ब रुपैयाँ सापटी सुविधा (एसएलएफ) लिएका छन्। राष्ट्र बैंकका अनुसार मंगलबार २२ अर्ब ५० करोड र बुधबार १८ अर्ब ५५ करोड रुपैयाँ सापटी रकम लिएका हुन्।

निक्षेप बढ्न नसकेपछि नयाँ कर्जा विस्तार त परैको कुरा, पैसा झिक्न आउनेलाई व्यवस्थापन गर्नकै लागि बैंकहरुले राष्ट्र बैंकसँग सापटी (एसएलएफ) लिँदै आएका छन्। एक सातासम्मका लागि पाइने यस्तो सापटीमा बैंकहरुले ५ प्रतिशत ब्याजदर तिर्नुपर्छ। यतिबेला अन्तरबैंक दर नै ४.९ प्रतिशत पुगेको छ।

कर्मचारीको तलव सुविधाबाहेक अघिल्लो सरकारले घोषणा गरेको बजेट कार्यान्वयन नभएपछि बैंकहरुमा नगद अभाव चुलिएको हो। नयाँ आर्थिक वर्षको अहिलेसम्म कर्मचारीको तलब बाहेकका क्षेत्रमा खर्च भएको छैन। जसले बैंकहरुमा निक्षेप बढ्न सकेको छैन।

साउन महिनामा वाणिज्य बैंकहरुबाट मात्रै ७८ अर्बले निक्षेप घटेको छ। भदौको दोस्रो सातामा आउँदा निक्षेपमा सामान्य सुधार देखिएको छ। भदौ ४ गतेसम्म २७ वाणिज्य बैंकहरुमा कुल ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १८ गतेसम्म आउँदा ४१ खर्ब २९ अर्ब कायम भएको छ।

यहीं दुई साताको अवधिमा कर्जा भने ४१ अर्ब रुपैयाँले बढेको छ। भदौ ४ गतेसम्म कुल ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ १८ गतेसम्म आउँदा ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। ‘साउनमा निक्षेप घटेकाले बैंकहरुलाई यतिबेला नगद मौज्दात अनुपात (सिआरआर) व्यवस्थापन गर्नका लागि केही समस्या भएको हो’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले भने ‘राष्ट्र बैंकसँग सापटी लिएर, त्यहीं पैसा नै परिचालन गरिरहेका छौं।’

सरकारको राजश्व संकलन भइरहने, तर खर्च नहुँदा नगद मौज्दात व्यवस्थापनमा बैंकहरुलाई समस्या छ। बैंकमा भएको निक्षेपबाटै सरकारलाई राजश्व भुक्तानी हुन्छ। त्यसले गर्दा निक्षेप घट्दै जान्छ। अर्कोतर्फ आयातमुखी अर्थतन्त्र भएकाले बस्तु खरिदमा ठूलो रकम बाहिरिन्छ। साउन महिनामा मात्रै १ खर्ब ५० अर्बको बस्तु आयात हुँदा २० अर्बको सामान मात्रै निर्यात भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्