भाद्र १५ हेटौंडा ___ नेपाल बिद्युत प्राधिकरणले सामान्यतया केही महिना निजी घरको विजुलीको महशुल नदिर्दा लाइन कटौती गर्छ । तर शक्ति र दादागिरी चलाउन सक्नेलाई भने प्राधिकरणले एक सय प्रतिशत नै छुट दिने रहेछ भन्ने उदाहरण हेटौंडामा देखिएको छ ।
हेटौंडाको हटियामा रहको शिवम् सिमेन्ट उद्योगले अर्बौं रुपैंयाँ तिर्न बाँकी छ । तर नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले उद्योगको लाईन काट्ने हिम्मत गर्न सकेको छैन् । हेटौंडा उपमहानगरपालिका–१६ स्थित हटियामा रहेको शिवम् सिमेन्टले दुई अर्ब ३४ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ । बारम्बार ताकेता गर्दा समेत शिवम् सिमेन्टले अर्बौं रकम नतिरी बसेको छ ।
२०७२ सालदेखि ०७५ सम्म प्रयोग गरेको डेडिकेटेड फिडरको एक अर्ब २१ करोड महसुल तिर्न बाकि छ । त्यसको जरिवानासहित २ अर्ब ३४ करोड पुगेको हो । पहिलेदेखि नै नेपालमा मुलधारका मिडिया र राजनीतिक दलका नेतालाई आफ्नो पकडमा राखेको उद्योगले पैसा नतिर्ने भन्दै सर्वोच्च अदालत समेत गएको थियो । तर सर्वोच्चले प्राधिकरणको पक्षमा फैसला गरेपनि हालसम्म बिद्युतको महशुल तिरेको छैन् ।
उद्योगले भने आफुले डेडिकेटेड लाईन प्रयोग नगरेको दावी गर्दै पैसा नतिर्ने बताएको छ । यता प्राधिकरण हेटौंडा वितरण शाखाका प्रमुख योगेन्द्र ठाकुरले भने शिवमले डेडिकेटेड लाइन नै प्रयोग गरेको बताउँछन् ।
‘उद्योगले प्रयोग गरेको विद्युतलाई हामीले डेडिकेटेड नै भन्छौं, उहाँहरु होइन भन्नुहुन्छ, हामीले बारम्बार पैसा तिर्न ताकेता गर्दा पनि भुक्तानी भएको छैन्, उनले भने । उनले प्राधिकरण केन्द्रबाटै असार मसान्तसम्म पैसा तिर्नु भन्नु तर लाइन नकाट्न भनिएकाले आफूले उद्योगको लाइन नकाटेको बताएका छन् । तर आजसम्म पनि प्राधिकरणले उद्योगलाई कुनै कारवाही गरेको छैन् ।
उनका अनुसार गत बर्ष नै अर्थमन्त्री, उर्जामन्त्री, लगायतको उच्चस्तरीय समितिले तत्कालका लागि शिवमको बिद्युत नकाट्ने निर्णय भएको थियो । यसले सरकारले नै बिद्युतको पैसा नतिर्ने शिवम सिमेन्ट उद्योगलाई संरक्षण गरेको प्रस्ट हुन्छ ।
त्यति मात्र होइन नेपालका मुलधारका मिडियाले पनि शिवमलाई साथ दिएका छन् । बिज्ञापनका नामका ठूला मिडियाका मालिकसँग उद्योगले लाखौं रुपैयाँको सम्झौता गर्ने गरेकोले उद्योगको कर्तुत ठुला मिडियाले सार्वजनिक गर्ने गरेका छैनन् । यतिसम्म कि मिडियाका कोही कर्मचारीले समाचार छापिहाले एकैछिनमा शिवम् विरुद्धको समाचार मिडियाबाटै हटाउने गरेका छन् ।
गत आइतबार राष्ट्रिय समाचार समितिले शिवमले विद्युतको पैसा नतिरेको विषयको समाचार लेखेपछि नेपालका केही मुलधारका मिडियामा पनि आएका थिए । तर ति समाचार ठूला मिडियाले नै पत्रकारिता आचारसंहिता विपरित केही समयपछी नै समाचार मेटे, केहिले तोडमोड गरेर सच्याए । यसले के प्रस्ट हुन्छ भने, आफ्नो कर्तुत लुकाउनको लागि शिवम सिमेन्ट उद्योगले ठूला मिडियालाई आफ्नो हातमा लिएको छ भने सरकारले पनि साथ दिएको अनुमान गरिएको छ । साभार हाम्रा कुरा