भदौ १० काठमाडौं ___ नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
गहुँ सिजनलाई ग्लोबल टेण्डरबाट मल नआउने निश्चित भएपछि जोहो गर्न ती मुलुकसँगको छलफल तीब्र पारिएको मन्त्रालय स्रोतले बतायो । ‘यो सिजनलाई मल खरिदका लागि गरिएको १४ वटा टेण्डरबाट मल आएन, अभाव चिर्न कुटनीतिक प्रयास थालिएको हो । कम्तीमा पनि एक लाख ५० हजार मेट्रिकटन मल ल्याउन सकिए हुन्थ्यो’ एक अधिकारीले भने ।
अहिले धान, तोरी, तरकारी र गहुँ तथा मकैका लागि हाल्न देशैभर मल अभाव रहेको मन्त्रालयले जनाएको छ । ढिलोमा मंसिर पहिलो सातासम्म आइपुग्नेगरी युरिया र डीएपी गरी बढीमा एक लाख ७० हजार मेट्रिकटनसम्म मलको खोजी गरिएको मन्त्रालयको दाबी छ । परराष्ट्र मन्त्रालय, ती देशमा रहेका नेपाली नियोग एवं यहाँँ रहेका ती देशका राजदूतमार्फत मल उपलब्धताका लागि पहल गरिएको मन्त्रालयको भनाइ छ ।