कुलमान घिसिङले भोली विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने

साउन २७ काठमाण्डौं ___ बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ)का रुपमा कुलमान घिसिङले कार्यभार सम्हाल्ने भएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यद्यपि सरकारले औपचारिक रुपमा यो विषय बाहिर ल्याएकाे छैन ।

यस विषयमा फरकधारले सोमबार साँझ घिसिङसँग कुरा गर्दै उनले हल्ला भएको, तर आफ्नो हातमा कुनै पत्र प्राप्त नभएको बताएका थिए । नियुक्तिबारे आफूले पनि हल्ला सुनेको तर आधिकारिक फोन र पत्र नआएको उनको भनाइ थियो । उनले फरकधारसँग संक्षिप्त कुरा गर्दै यस विषयमा मंगलबारसम्म कुनै तथ्य आउने अनुमान गरेका थिए ।

औपचारिक रुपमा तथ्य बाहिर नल्याइए पनि भित्री रुपमा उनले बुधबार कार्यभार सम्हाल्न लागेको स्रोतको दाबी छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्तिका लागि ठाडो निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै ऊर्जामन्त्री भुसालले निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहज बनाइदिन अनुरोध गरेकी थिइन् । सोमबारको बैठकमा मन्त्री भुसालले घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेस गरेकी थिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्