साउन २४ वीरगंज___ पर्साको पोखरिया नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीकै डिजाइनमा ७ करोडको बजेट किर्ते गरी टेन्डर भएको खुलेको छ । पोख्रिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, उप–मेयर सल्मा खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको डिजाइनमा पोखरिया नगरपालिकाको करिब ७ करोडको योजना किर्ते गरी टेन्डर भएको खुलेको हो ।
पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमित गिरीकै मुख्य डिजाइनमा ३० प्रतिशत कमिसनको मिलेमतोमा ७ करोडको बजेट किर्ते गरी टेन्डर भएको पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले बताए । प्रमुख प्रशासकीय अधिकृत गिरी करिब ४/५ महिना पहिले नै सरुवा भइसकेका छन् ।
आफू सरुवा हुने थाहा पाएपछि रातारात कमिसनको कुरा मिलाई तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गिरीले नै जनाप्रतिनिधिको समन्वयमा करोडौँको योजना किर्ते टेन्डर गराएको अध्यक्ष तात्वा बताए । करिब डेढ साल पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई काम गरेका गिरीले पालिकाको योजनामा भ्रष्टाचार गरी करोडौँ रुपैयाँ लुटेको तात्वाको आरोप छ ।
सरुवा हुनेबेलामा प्रमुख प्रशासकीय अधिकृत गिरीले पोखरिया नगरपालिकाको अस्पतालमा पेन्ट गर्न, बर्वामा मन्दिर निर्माण, धर्मशालामा पलास्टर, पोखरिया कृषि सेढ, पोखरियाको पानीटंकी परिसरमा गाडी पार्किङ्गको लागि टिनको छानो निर्माण, पोखरिया नगरपालिका वडा नं. २ लमरियामा वडा कार्यालय भवन निर्माण, पोखरियामै सडक तथा नाला ढलान निर्मण, स्कुलको मर्मत सम्भार, कृषि क्षेत्रमा छुट्ट्याएको बजेट लगायतका योजना सूचना नै ननिकाली किर्ते टेन्डर गरेको अध्यक्ष तात्वाको आरोप छ ।
आफूहरूको विरोध र हालका प्रमुख प्रशासकीय अधिकृतले सो कुरा बारे थाहा पाएपछि उक्त योजनाको पैसा रोक्का गरिएको युवा समाजका अध्यक्ष तात्वाले बताए । कामभन्दा पनि ३० प्रतिशत कमिसनको लोभमा तत्कालीन अधिकृत गिरीकै डिजाइन, मेयर रौनियार र उप–मेयर खातुनको सपोर्टले उक्त करोडौँको योजना किर्ते टेन्डर भएको बुझिएको छ ।
युवाहरूद्वारा आन्दोलन
पोखरिया नगरपालिकाको कार्यालयले सूचना नै ननिकाली ७ करोडको फर्जी टेन्डर गरेको र सो टेन्डरको कागजातहरू माग गर्दा हालसम्म उपलब्ध नगराएको भन्दै पोखरीया युवा समाजले आइतबार नगरपालिकाको विरोधमा आन्दोलन गरेका छन् । पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाको नेतृत्वमा युवाहरूको टोलीले नगर परिक्रमा गरी नगरपालिका विरुद्ध आन्दोलन गरेका हुन्. ।
आन्दोलन गर्दै युवाहरू पोखरीया नगरपालिकामा पुगी मेयर दिपनारायण रौनियारलाई ९ बुँदे मागसहित ज्ञापन पत्र पनि बुझाएका छन् । विभिन्न शीर्षकमा करिब ७ करोडको फर्जी टेन्डर गरेको भन्दै युवा समाजले सो टेण्डरको कागजपत्र उपलब्ध गराउन विगत एक महिना पहिल्यै देखी पोखरिया नगरपालिकासंग माग गर्दै आए पनि विभिन्न बहानामा उक्त सूचना उपलब्ध नगराएकोले विरोध ¥यालीसहित नगरपालिकामा ज्ञापन पत्र बुझाएको पोखरीया युवा समाजका सदस्य सुजित गिरीले बताए । गिरीले आफूहरूको सबै माग दुई दिनमा पुरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यस्ता छन् मागहरुः
१) फर्जी रूपमा भएको सम्पूर्ण टेन्डरको कागजात पारदर्शित गर्ने ।
२) श्री.जी. उ.रा.क.न. विद्यालय पोखरियाको खाता तथा प्र.अ.को समस्या समाधान गरियोस् ।
३) हरेक वडामा खराब भएको बाटो तुरुन्त मर्मत सम्भार गरियोस् ।
४) पोखरिया नपाको कार्यालयले दिने सम्पूर्ण आर्थिक तथा प्रशासनिक सेवा कार्यालयबाट दिने व्यवस्था गरियोस् ।
५) पोखरियाा अस्पतालका समस्या समाधान गरियोस् ।
६) कृषिको बजेट पारदर्शिता गरियोस् ।
७) बजार व्यवस्थापन चाडै भन्दा चाडै गरियोस् ।
८) कर्मचारीको नियुक्ति प्रक्रिया सार्वजनिक गरियोस् ।
९) २०७७/७८ सालको आयब्यय पारदर्शिता गरियोस् ।