संसद् विघटनविरुद्ध मुद्दा हाल्न आज ५ दल सर्वाेच्च अदालत जाँदै

१० जेठ काठमाडौं। संसद् विघटनविरुद्ध नेपाली कांग्रेससहित ५ दलले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन् ।नेकपा माओवादी केन्द्रका नेता देव गुरूङका अनुसार प्रतिनिधि सभा भंगविरुद्ध रिट दर्ता गर्न अदालत जाने तयारी भइरहेको छ । यति बजे नै अदालत जाने भन्ने त छैन तर आज कुनै समय अदालतमा मुद्दा दर्ता गर्छौं।

हिजै अदालत जाने तयारी गरेका ५ दलले आफ्ना पक्षका १ सय ४९ जना सांसदको नागरिकतासमेत लिएर जाने निर्णय गरेकाले त्यो संकलन गर्न समय लागेपछि मुद्दा हाल्ने समय आजका लागि सारिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार यही जेठ ७ गते १ सय ४९ सांसदको हस्ताक्षर लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कार्यालय पुगेर प्रधानमन्त्री पदको दाबी पेस गरेका थिए। तर राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै उनको निवदेन खारेज गरेर संसदै विघटन गरेपछि विपक्षी ५ दलले कानुनी लडाइँ सुरु गरेका हुन् ।    यसमा प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टी एमालेको माधव नेपाल पक्ष पनि सहभागी छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने घोषणा गर्दै संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका थिए । तर पछि उनी आफैं पनि १५३ सांसद आफन पक्षमा रहेको भन्दै प्रधानमन्त्री पदको दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए ।
यसपछि राष्ट्रपतिले ओली र देउवा दुवैको दाबी नपुगेको भन्दै शुक्रबार मध्यराति प्रतिनिधि सभा नै भंग गरेकी हुन्।यसविरुद्ध चौतर्फी आलोचना भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्