साउन १४ मुम्बई __ बलिउडका क्यारेक्टर आर्टिस्टको रूपमा चिनिने अभिनेता हुन्, आयुष्मान खुराना । आयुष्मान त्यस्ता ‘आउटसाइडर’ अभिनेता हुन् जसले बलिउडमा अभिनेताको रूप नै फेरिदियो । उनले ‘ए ग्रेड’ का अभिनेताहरूलाई पनि चुनौती दिएर फरक धारका कथामा आधारित चरित्रहरू गर्न थाले । उनले ती चलचित्र र चरित्रहरूलाई पर्दामा मात्रै उतारेनन् बलिउड चलचित्रको धारा नै परिवर्तन गरिदिए ।
उनै आजका स्टार आर्टिस्ट आयुष्मान कुनै बेला चलचित्र क्षेत्र छोडेर बर्थ डे पार्टीहरूमा ब्यान्डसँग प्रस्तुती दिन थालिसकेका थिए । ‘विक्की डोनर’ चलचित्रबाट बलिउडमा डेब्यु गरेका उनी पहिलो प्रयास पछि नै हार खाएर फर्किएका थिए ।
“मेरो पहिलो चलचित्रपछिका ३ चलचित्रहरू लगातार फ्लप भए । मेरो झोला प्याक गरेर चण्डिगढ गएँ, म सँग खाली समय थियो र मैले बुक (बायोग्राफी) लेखेँ । यो त्यस्तो स्टेज थियो, जब कुनै कुरा पनि सही गइरहेको थिएन,” आयुष्मान भन्छन्, “मैले आयुष्मान भाव नामक ब्यान्ड बनाएँ र कन्सर्टहरू गर्न थालेँ । यदि केही पनि भएन भने म जन्मोत्सवको पार्टीहरूमा भएपनि प्रस्तुती दिन्छु भनेर सोचिसकेको थिएँ ।”
अभिनेता अरबाज खानको सो ‘पिन्च २’ मा कुराकानी गर्दै उनले आफ्नो करियरको असफलताका दिनहरूको बारेमा यसो भनेका हुन् । इन्डियन एक्सप्रेसबाट