०९ जेठ काठमाडौं । नेपाल प्रेस युनियनको यहि जेठ १३ र १४ का लागि तय भएको महाधिवेशन कोभिडका कारण हाललाई स्थगित भएको छ । पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणका कारण तोकिएको मितिमा महाधिवेशन हुन नसकेको हो । महाधिवेशनको नयाँ मिति कोरोना न्युनिकरण भएपछि निर्धारण गरिने नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष सिग्देलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते शुक्रबार दोस्रो पटक संसद विघटन गरिएको घटना प्रति प्रेस युनियनले घोर भत्र्सना गरेको छ। विश्वासको मत लिन नसक्ने प्रधानमन्त्रीले राजीनामा गर्नु वैधानिक दायित्व भएपनि प्रधानमन्त्री ओलीले त्यसको विपरीत लोकतान्त्रिक विधि, पद्धति र मान्यता लाई कुल्चदै अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘संविधानको संरक्षक समेत रहेकी राष्ट्रपतिले आफ्नो पदीय गरिमाको अवमूल्यन हुने गरी वैकल्पिक सरकारको बाटो रोक्ने र संसद विघटन गर्ने कार्य गरेर तत्कालीन राजा ज्ञानेन्द्रकै पथ अनुशरण गरेकी छन्’, विज्ञप्तिमा भनिएको छ, राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको यो असंवैधानिक र प्रतिगामी कदमले संविधानको चिरहरण गरेको छ । यसका निम्ति उनीहरुलाई इतिहासले कहिल्यै क्षमा दिने छैन ।’