०९ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल अब ‘पास्ट टेन्स’ हुन खोजेको बताएका छन्। आइतबार बालुवाटारमा आयोजित एमाले निकटका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले फरक-फरक प्रसंगमा नेता नेपालको आलोचना गरेका थिए।माधव नेपालको गतिविधि अति नै भइसकेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो। ‘सधैँ पार्टीभित्र गुटबन्दी, गुट सञ्चालन। पार्टी होइन, पार्टीलाई गुटहरुको मोर्चाको रुपमा लाने र आफू ‘पावर गेन’ गर्ने। पार्टीको सत्ता कब्जा गर्ने। पार्टी कब्जा गर्ने। त्यो खालका नियतभन्दा बाहिर कहिले पनि देखिएन। र, त्यसका लागि सबै खालका अस्वस्थ गतिविधि गर्ने’, माधव नेपालको चित्रण गर्दै उनले भने।
ओलीले कर्णालीको फ्लोर क्रसदेखि राष्ट्रिय सभा निर्वाचनमा तलतलसम्म कार्यकर्ताहरुलाई गलत ढंगले परिचालन गरिएको बताए। ‘गलत क्रियाकलापमा कार्यकर्तालाई डुबाउने। फसाउने। बागी विद्रोही उठाउने। विरोधीहरुसँग मिलेर पार्टीका विरुद्ध उम्मेदवार उठाउने, प्रचार गर्ने, गतिविधि गर्ने र पार्टी उम्मेदवारलाई हराउने कामहरु भएको हामी सबैलाई थाहा छ’, उनले भने, ‘आफ्नो पार्टीको अध्यक्ष, दलको नेता, प्रधानमन्त्रीलाई हटाएर विपक्षी पार्टीलाई, त्यो पनि प्रमुख प्रतिपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउनका लागि निर्लज्ज ढंगले कुदेको लोकतान्त्रिक आन्दोलनको इतिहासमै कहीँ पनि छैन।‘
ओलीले माधव नेपालको नेतृत्वमा निर्लज्जता प्रदर्शन भएको बताए। ‘यस्तो रेकर्ड छैन दुनियाँको इतिहासमा। लोकतान्त्रिक आन्दोलनमा। पार्टी सिस्टममा। यस्तो कहीँ इतिहास छैन’, उनले भने।
उनले पार्टीमा बस्न मन नहुनेहरुले अलिकति इमान देखाउने भए पनि नेपालले नदेखाएको बताए। ‘म नेकपा एमालेको वरिष्ठ नेता भनेर सही गरेर लाजमर्दो गरी जाँदैन क्या कोही पनि। एमाले नेताका विरुद्ध विपक्षीको पक्षमा हस्ताक्षर गरेर अनि ‘म एमालेको वरिष्ठ नेता’ भनेर ङिच्च दाँत देखाएर बस्न । यति निर्लज्ज दुनियाँमा कहीँ देखिएको छैन’, उनले भने।
ओलीले माधव नेपालले डुप्लिकेट पार्टी दर्ता गरेको बताए। ‘कति छद्म खेल। छद्मको पनि एक पत्र हो र ? पत्रैपत्र, छद्मैछद्म। षडयन्त्रै षडयन्त्र। धोकैधोका। बेइमानी नै बेइमानी। निर्लज्जता नै निर्लज्जता। पत्रैपत्र। त्यसकारण अब हामीले स्पष्टीकरण सोधेका छौं। स्पष्टीकरण हेर्छौं। तदनुसार कारबाही अबिलम्ब जे गर्नुपर्ने हो गर्छौं’, उनले भने।