चम्पाकोट डांडाको कुवाको कथा

भीषण राई
०९ जेठ उदयपुर । शहरमा कोरोनाको कहर छ तर गाउंमा त्यस्तो छैन । उनिहरुलाई शुद्ध पानी पिउन नपाएकोमा समस्यामा छन् । त्यो पनि वर्षौदेखी । अहिले कुवाको पानि डोकोमा ल्याएर घरधन्दा गर्ने चलन लगभग छैन । तर पनि केही स्थानमा अझै पनि कुवाको चलन जारी छ । मुख्यत पिउने पानीको श्रोतको लागि अझैपनि गाउंघरका मानिषहरुले कुवाको प्रयोग गरिरहेका छन् ।
यस्तै एउटा कुवा छ । जुन पहाडको काखैमा छ । कुवाको माथील्लो पटि तितेपाती, निघुरो, बनमारा, दुधेलो झांगीएका छन् । कुवाको छेउछाउमा हरिया घांस उम्रिएका छन् । तल्लो पटि भने ढुंगाले भूई छापिएका छन् । भित्ताको कापमा रहेको विरुवाका जराहरुबाट रसाएको पानी कुवामा तप–तपाउंदै गरेको छ । कुवाको वरीपरी गाईबस्तुको खुरका डोबहरु देखिनुले यो कुवा मानिसका लागि मात्र हैन पशुपंक्षीको लागि पनि पिउने पानीको श्रोत रहेको बुझ्न सकिन्छ । सरसर्ती हेर्दा कुवाले मानिस र पशु दुवैको तिर्खा मेटिरहेको छ ।

यो कुवाको स्थापना निकै पहिले भएको स्थानिय बताउंछन् । गाउंका स्थानिय बुढापाकाले यसको खोजी गरेका थिए । उहिले देखी अहिलेसम्म यहि कुवानै गाउलेहरुको पिउने पानीको मुख्य श्रोत हो । पैतालिस सालमा गएको भुकम्पले उक्त कुवा पुरेपछि कुवा हराएको थियो ।
गाउंलेलाई पानीको विकल्प थिएन । पछि गाउंलेले पुन तल्लो पटि त्यस्तै कुवा खने । शायद भुईचालोले जमिन धसिएर होला आउनु पर्र्ने पानी अन्त्यतिर सोसीयो । जसका कारण पहिलेको तुलनामा अहिलेको कुवामा पानी प्रशस्त आएन । तर अझैपनि जेनतेन स्थानिय त्यहि कुवाको भरमानै छन् । किनभने गाउंमा पानीको अन्य भरपर्दो श्रोतै छैन । भएपनि दिनभर पानी बोक्नुपर्ने ठाउमा मात्र अर्को श्रोत छ । नजिकै भएको भनेको यहि एउटा कुवा मात्र हो । मानिषको बसोबास उच्च भागमा रहेको भौगोलिक अवस्थाका कारण यस स्थानमा पानीको समस्या भएको हो ।
हिंउद बर्खा सदैव व्यस्त छ यो कुवा । त्यो कुवाको पानी स्थानिय गाउंलेले पिउंछन्नै स्थानिय पशुले पनि पिउंछन् । बेला बेला कुकुरले पनि कुवाको पानी चाटेर खाने गर्दछ । गाउंका सबै जिवजन्तु यहि कुवाको भरमा छन् । स्थानियको अन्य श्रोत नभएकोले त्यहि कुवाको जुठो, फोहोर र दुषित पानी पिउन बाध्य छन् । “कुकुरले चाटेको पानी पिउन बाध्य छौं” स्थानिय अरुण राई भन्छन्–“कुवाको संरक्षण गर्न कसैले पहल गर्दिए हामीलाई राहत हुने थियो ।” यहां आउने पर्यटकलाई पानी दिन पनि नसकिएको उनिहरुको गुनासो छ । राई भन्छन् हामीलाई त यस्तै पानी पिउने बानी परिसकेको छ, वहांहरुलाई यस्तो फोहोर पानी कसरी दिनु ?

कुवाको पानी धमिलो छ । यो कुवा जमुवा कुवा हो । कुवाको बग्ने कुनै निकासको बाटो छैन । जम्मा एघार घरधुरी रहेको उक्त गाउंमा पानीको निकै समस्या छ । घरबाट पौने घण्टा समय लगाएर कुवाको धमिलो पानी डोकोमा बोकेर खान बाध्य छन् उनिहरु । गाउंलेहरु लामो समयदेखी सफा अनि स्वस्थ्य पिउने पानीको समस्यामा छन् । कति सम्म पानीको अभाव छ भने यदि कसैले आएर लुगा धोए कुवाको पानी सकिन्छ । अनि कुवा रसाउन दिएर पर्खिनुको विकल्प छैन । कुवाको धमिलो पानी त्यसमाथी पर्याप्त पानी नहुनु अर्को समस्या छ ।
कुवाको पानी छोप्ने बन्दोबस्ती पनि छैन । उमालेर खाने चलन पनि नभएको बताउंदै अरुण राई भन्छन् –“यहां गाउंलेमा पानी फिल्टर गर्ने पनि चलननै छैन ।” धमिलो दुषित पानी पिउनाले गाउंलेमा झाडा पखाला, रुघा मार्गी र वान्ताको समस्या हुने गरेको उनिहरु बताउंछन् । पानीको अभाव त छ नै दुषित पानी पिउनु पर्ने नमिठो अवस्था छ । आफू नगरवासी भन्नुमा पनि लाज भएको उनिहरु बताउंछन् । कागजमा नगरवासी भएपनि पानीको हाहाकारले हामी संधै काकाकुल बन्नु परेको उनिहरु बताउंछन् ।
उदयपुर जिल्लाको बेलका नगरपालिका आठ नम्बर वडाको चम्पाकोट डांडामा रहेको कुवा र कुवासंगै जिवन जोडिएको स्थानिय गाउंलेको कथा हो यो । त्यहा पुग्न कोशी पुलबाट मोटरसाइकलमा करिव आधा घण्टाको मोटरसाईकल यात्रा पछि सहजै पुग्न सकिन्छ । एक चौथाई बाटो कालोपत्रे गरिएको छ भने बांकी तिन चौथाई ग्राभेल बाटो छ ।
यहांको विकासको लागि स्थानिय सरकार र गैरसरकारी संस्थाहरुको ध्यान पुग्न सकेको छैन । प्राय किरात राई जातिको बसोबास रहेको यहां जनचेतनाको जरुरी रहेको छ । अधिकांष पशुपालनमा आश्रीत यहांको स्थानिय जनता राज्यको न्युनतम सुविधाबाट बञ्चीत हुनु परेको छ । स्थानियले शुद्ध पिउने पानी समेत पाउन सकेका छैनन् ।
यो कुवा भएको डांडालाई चम्पाकोट डांडाको नामले परिचित छ । ऐतिहासीक महत्वको त्यहां चम्पा भगवति देवीको मन्दिर छ । त्यसैको नामबाट यो डांडाको नाम चम्पाकोटको रहन गएको हो । छेउमा रहेको गिद्धे भिरपनि पर्यटकको लागि महत्वपूर्ण छ । टाढाबाट चम्पाकोट हेर्दा जति सुन्दर लाग्छ त्यहां पुगेपछि भने झनै गज्जब हुनेछ । त्यहांबाट सर्लक्क सगरमाथा लगायत अन्य हिम श्रृंखला, सप्तकोशीको मनोरम छटा र चारकोशे झाडी छर्लंग देखिन्छन् । यहांबाट प्याराग्लाइडिङको पनि अभ्यास हुने गरेको छ ।


अहिले चम्पाकोट पर्यटकिय स्थलको रुपमा विकास हुंदै गएको छ । पानीको समस्या भएपनि बेलाबेला आफू चम्पाकोट चिसो खान र घुम्न निस्कने गरेको कोशीपुल स्थित पलेटी रेष्टुरेण्टका सञ्चालक दिपक राई बताउंछन् । उनि भन्छन् –“यहां पानीको एकदमै समस्या छ, यदि सरकारले उक्त समस्या समाधान गरे चम्पाकोटको पर्यटनमा वृद्धी हुनेछ ।” मुख्य त चम्पाकोटको चिसो मौसमले आफूलाई तानेको उनि सुनाउंछन् ।
यहांको थप विशेषता भनेको तल मधेषमा हपहपी गर्मी भएको बेला यहां भने भेडेटारझै चिसो मौसमको अनुभूति गर्न सकिन्छ । त्यसैले यसलाई अहिले स्थानिय पर्यटकहरु मिनि भेडेटार भनेर भन्ने गरेका छन् । मिनी भेडेटारमा पानीको समस्या छ । पानीले काकाकुल भएर पनि स्थानियको मायाप्रेम विर्सी नसक्नुको छ । यदि यहां पिउने पानीको समस्या हल भए त्यहां पुग्ने पर्यटकलाई राम्रा हुन्थ्योनै, स्थानिय झनै खुशी बन्थे । बत्ती मुनीको अंध्यारो भनेझै तल सप्तकोशी बगेको देख्नु परेको छ तर माथी डांडामा पिउने पानी छैन ।
बेलका नगरको नजर त्यहांको पिउने पानी र पर्यटनमा परे समग्र बेलका नगरको भविष्य उज्वल छ । नगरको ध्यान त्यसतर्फ कहिले जाला भनेर स्थानियहरु अझैपनि आश गरेर बसीरहेका छन् । तर बेलका नगरले दुर्गम ठाउंका जनता पनि आफ्नो नागरिक हुन् भनेर कहिले बुझ्ने खै ?

यहाँ कमेन्ट गर्नुहोस्