०८ जेठ काठमाडौं । आउँदो जेठ १८ अर्थात् जून १ तारिखदेखि गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हट्दै छ । विश्वभर नै गुगल फोटोजका प्रयोगकर्ता छन् । गुगलको यो निर्णयले करोडौं प्रयोगकर्तालाई निराशा बनाउने छ । यद्यपि थप फिचरसहित गुगल फोटोजले प्रयोगकर्तालाई नयाँ स्वाद दिने प्रयास गरिरहेको छ ।
गुगलको अनलिमिटेड स्टोरेज योजना बन्द गर्ने निर्णय अन्तर्गत यदि १५ जीबीभन्दा बढी फोटो र भिडिओ छ भने कि त तपाईंले अन्यत्र सार्नुपर्छ, कि त गुगल फोटोजमै पैसा तिर्नुपर्छ ।
जून १ देखि हाई क्वाक्लिटी तथा एक्सप्रेस क्वाक्लिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गुगलले उल्लेख गरेको छ ।
यसपछि गुगल फोटोजमा निरन्तर फोटो र भिडियो ब्याकअप राख्न पैसा तिर्नुपर्छ । १५ जीबीभन्दा बढी फाइल ब्याकअप राख्दै हुनुहुन्छ भने तपाईंले एक महिनाका लागि १.९९ डलर र एक वर्षका लागि १९.९९ डलर तिर्नुपर्ने हुन्छ ।
यो शुल्कमा तपाईंले १०० जीबीसम्म फाइल स्टोर गर्न सक्नुहुन्छ ।
यदि गुगलको पिक्सेल फोन चलाउनुहुन्छ भने तपाईं चैं भाग्यमानी बन्नुहुनेछ । किनकि पिक्सेल फोन प्रयोगकर्ताले जून महिनापछि पनि निरन्तर अनलिमिटेड स्टोरेजको मज्जा लुट्न पाउनेछन् ।