माधव नेपालको कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन: केपी शर्मा ओली

असाढ़ ३० काठमाडौँ___ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री निवासबाट आफ्नै निवास बालकोट सरेका छन् । उनलाई पार्टीका भ्रातृ संस्थाका युवाहरुले स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोट पुर्याएका थिए ।

बालकोटको घरमा पुगेर ओलीले त्यहाँ उपस्थित सबैलाई सम्बोधन गर्दै माधवकुमार नेपालमाथि आक्रोश पनि पोखे । ‘पार्टीभित्र घुसपैठ यस्तो भयो, पार्टीका कुतत्वहरू प्रतिक्रियावादीका पछिपछि लागेर पार्टीविरुद्ध, जनताको शक्तिविरुद्ध, लोकतन्त्रविरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर गए’ ओलीले भने ।

ओलीले माधवकुमार नेपाललाई लाज सरम हराएका व्यक्ति भनेर टिप्पणी गरे । ‘माधव नेपालजस्ता लाज सरम हराएका । उनको पछाडि लाग्ने केही व्यक्तिहरु छन्,’ ओलीले भने, ‘पछाडि लाग्नेहरूले कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

एमालेकै माधवकुमार नेपाल समूहका २३ सांसदले अदालतमै उपस्थित भएर देउवाको पक्षमा हस्ताक्षर बुझाएका थिए । अहिले एमालेमा पार्टी एकताको लागि प्रयास भए पनि ओलीले आज माधवकुमार नेपालमाथि देखाएको आक्रोशले पनि एमालेमा एकताको सम्भावना न्यून देखिन्छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्