०७ जेठ काठमाडौँ। नेपाल विद्यार्थी संघले प्रधानमन्त्री र राष्ट्रपतिबाट भएका असंवैधानिक गतिविधिको भत्र्सना गर्दै त्यसलाई परास्त गर्ने निर्णायक संघर्षको तयारी गर्न आव्हान गरेको छ ।
नेविसंघले राष्ट्रपति प्रधानमन्त्री ओलीका कदममा आँखा चिम्लेर साथ दिने कारिन्दाको रुपमा प्रस्तुत भएको आरोप लगाएको छ । केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनताको जीवन र रक्षा गर्ने मूल दायित्वलाई चटक्कै बिर्सिदै, लोकतन्त्र र संविधानलाई कमजोर पार्दै ओली सत्ताको आयु लम्ब्याउन प्रधानमन्त्री र राष्ट्रपतिबाट भएका असंवैधानिक गतिविधिको नेविसंघ घोर भत्र्सना र निन्दा गर्दछ ।’ उनले लोकतन्त्र र संविधानको रक्षार्थ निर्णायक संघर्षको घडी आएको बताएका छन् ।
‘जस्तो सुकै संघर्षको लागि पनि तयारी अवस्थामा रहन देशभरिका युवा विद्यार्थी साथीहरुमा आव्हान गर्दछु, आउनुस्, लोकतन्त्र र संविधानको रक्षार्थ ओली विद्या गठबन्धनलाई सधँैको निम्ति परास्त गरौँ,’ अध्यक्ष ढुंगानाले विज्ञप्तिमार्फत् भनेका छन् ।
नेविसंघले प्रधानमन्त्री ओलीले आफु प्रधानमन्त्री बनेकै मितिदेखि लोकतन्त्र र संविधान कमजोर बनाउन लागेको, अब संसद भङ्ग गर्दै संविधान फाल्न उद्धत रहेको आरोप लगाएको छ ।
नेविसंघका महामन्त्री दिपक भट्टराईले महामारीमा सरकारले थप संकटलाई निमन्त्रणा गरिरहेको र महामहिम राष्ट्रपति केबल केपी ओलीको आदेश पालकमात्रै बनेको आरोप लगाए ।
‘राष्ट्रपति ओलीको आदेश पालक मात्र बनिन्, संविधानको संरक्षण गरिनन्। संविधान र लोकतन्त्र को रक्षार्थ सम्पूर्ण लोकतन्त्रवादी एक जुट हुन अब ढिलो गर्नु हुँदैन,’ उनले भने ।