चालु आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न सकेन

असाढ़ २८ काठमाडौं__ चालु आर्थिक वर्षमा पनि सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न नसक्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गर्नुभएको थियो । तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्ष सकिन तीन दिनमात्र बाँकी छ । सरकारको आफैंले गरेको २० प्रतिशतभन्दा बढी असारमा खर्च नगर्ने निर्णय लत्याएर बजेटरी अनुशासन पालना नगरेको अर्थविद्हरु बताउँछन् । विगत १२–१५ वर्षदेखि असारमा मात्रै ४० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुने गरेको भन्दै त्यो खर्च भएको रकमको गुणस्तर हेर्नुपर्ने विज्ञहरु बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्षको अन्त्य हुन ५ दिन बाँकी रहँदा १ खर्ब ९२ करोड खर्च गरेको छ । जसमध्ये पनि अधिकांश खर्च असार महिनामै भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनामा दैनिक करिब २ अर्बको दरले २५ दिनमा मात्रै कूल ४९ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।

यो पहिलेको तुलनामा निकै नै धेरै हो । यसअघि प्रतिदिन ४२ करोड ८४ लाख खर्च हुने गरेकोमा असार लागेसँगै प्रतिदिन झण्डै पाँच गुणा बढी अर्थात् २ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ । सरकारी नीति अनुसार असार २५ गतेदेखि सामान्य खर्चका लागि चेक काट्न नपाइने नियम रहेको छ । तर, विषेश कार्यक्रमका लागि ३१ गते सम्मनै चेक काट्न मिल्ने महालेखा नियन्त्रक कार्यालयको भनाइ छ ।

पुँजीगत खर्चको तुलनामा चालु बजेट भने विगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्षमा पनि अधिक खर्च भएको छ । चालु आर्थिक वर्षमा सरकारले ९ खर्ब ४९ अर्ब रुपैयाँ चालू बजेटअन्तर्गत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, हालसम्म ८८.०५ प्रतिशत अर्थात्, ८ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ५४.११ प्रतिशत अर्थात्, ९३ अर्ब ५० करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्