२७ असार उदयपुर । शदियौ काल देखि धर्मको आढमा कलियुगमा पनि सति प्रथा (पतिको मृत्युसँगै जिउदै पत्नि जलाउने) रहेको पढ्न/सुन्न पाईन्छ । सती अर्थात सत्य युगको ‘शिव जी’ को अर्धाङ्गिनीको एक नाम देवि सति थियो । अर्थात सती संस्कृत शब्दवाट लिएको नाम हो ।
आफ्नो बुबा दक्षलाई उनको र उनको पति शिवको अपमान सहन नसकेर उनले आगोमा जलेर भष्म भएको कुरा पुराणमा समेत उल्लेख गरिएको रहेछ । (सतिका नामहरू :- अनुसुर्या, अहोल्या, सिता) द्वापर युगमा ऋषिको स्रापले पाण्डुको मृत्यु भएको र उनका श्रीमती माधुरी सति गाको उल्लेख गरिएको सुन्नमा पाईन्छ । कल्पना गर्नुस आगोले अलिकती पोल्दा त कती दुख्छ भने जिउदै आगोमा जल्नुको पिडा कस्तो हुन्छ ?
इसापुर्व ३१९-५४० विसि मा युद्धको दौरान एक जना योद्धा गोपराजको लडाईमा मृत्यु भए पश्चात उनको श्रीमती भाव विभोल भई उनको लास माथि आफुलाई पनि जलाईएको कुरा भारतिय अभिलेख (लेखक:भाणुगुप्त) ऐरणमा उल्लेख गरिएको छन रे, जुन ईतिहास कै पहिलो सति हो । खास गरि यो प्रथा दक्षिण एसियाको उत्तरी र पूर्व-आधुनिक क्षेत्रमा हिन्दुहरूको बीचमा मुख्यतया ऐतिहासिक प्रचलनमा लेखिएको पाईन्छ, जहाँ एक विधवाले आफ्नो मृत पतिको अन्त्येष्टिमा बसेर आफूलाई बलि चढाउँछिन् ।
इतिहासमा कुन हदसम्म सती अभ्यास गरिएको थियो स्पष्टताको साथ कहि लेखिएको थाहा छैन । यद्यपि, प्रारम्भिक आधुनिक मुगल कालको अवधिमा यो पश्चिमी भारतमा सम्भ्रान्त हिन्दू राजपूत कुलसँग सम्बन्धित थियो, जसले राजपूत संस्कृति र इस्लामी मुगल संस्कृति बिचको भिन्नतालाई चिह्नित गरेको छ । ईतिहास पल्टाउदै जाँदा सति प्रथा हटाउने प्रयास मुगल सम्राट सुल्तान मो. विन तुगलतले गरेको पनि पाईन्छ ।
त्यस पछि फिरोज शाह तुगलकले त्यसको अन्त्य गरेको पाईन्छ । फिरोजको मृत्यु पश्चात पुर्ण सो प्रथा लागु भयो । सो प्रथा हटाउन राजा अकवर र औरंगजेलले पनि प्रयास गरेका थे । १८ औं शताब्दीको शुरुमा, (सन् १९२९) ईस्ट इण्डिया कम्पनीले प्रायः भारतमा आफ्नो शासन विस्तार गर्ने क्रममा, यस्तो प्रथा देखे पछि बेलायती शाषक लोर्ड वलियम वन्टिन्कले र राजा राम मोहन राय जस्ता हिन्दू सुधारवादीहरूले सती प्रथाको विरोध गरेका थिए । जुन प्रथा सन १८६१ मा कानून बनाई बन्देज गरेका थिए । नेपालमा भने वि.स. १९१०मा जङ्गबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए ।
तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् । जङ्गबहादुर राणाले १६ बर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए । यद्यपि बि सं१९७७ सालमा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका श्रय मान्न सकिन्छ । नेपाली ईतिहासको पानालाई पल्टाई हेर्दा पनि एउटा लोग्ने मर्दा दर्जनौ स्वास्निहरु चितामा जलेर सति गएको प्रमाणहरु भेट्टाउँन सक्छौ ।
वि.सं. १७४४ मा काठमाडौका राजा पार्थिवेन्द्र मल्ल विष सेवनद्वारा मर्दा उनीसँग २४ वटी स्त्री सती गएका थिए । त्यस्तै योगनरेन्द्र मल्ल मर्दा ३३ जना रानीहरु, प्रताप मल्लका ९ वटी रानीहरु, नृपेन्द्र मल्लका ९ रानीहरु लगायत जुन काल खण्डमा थुप्रै नारीहरुले सति गएर बलिदान दिएको ईतिहासको पानाहरुमा हामी भेट्टाउँन सक्छौ । यस्ता कयौ घटना लेखिएका छैनन् । जस्तै: आजको समयमा आफ्नो संस्कृति अनुसारको कसैलाई जलाउने र कसैलाई गाड्ने चलन छ तर तपाई पढि रहनु भएका व्यक्तिलाई मेरो प्रश्न, के ईतिहासमा फरक-फरक संस्कार अंगाल्नेहरू विचमा पनि यो प्रथा लागु गरिएको थियो? के यो प्रथा मतवाली संस्कृतिमा लागु गरिएको थियो ?
धर्मको आडमा आज पनि कयौं महिलाहरू जिउँदै जलाई रहेका छन् । सदियौ देखि नारी माथी लादिएको सति प्रथाको अन्त्य १९७७ मा चन्द्र सम्सेर राणाले गरे । तर दु:ख लाग्दो कुरा ति सति गएर प्राण त्यागेका नारीहरुको सम्झनामा आज सम्म नत कुनै शोक नै गरियो, नत ईतिहासलाई सम्झेर यस्ता प्रवृतिका घटनामा अधिकार कर्मिहरूले डलरको खेति बाहेक बुलन्द आवाज उठाउने प्रयास नै गर्यो । वि.स. १९७७ आसाढ २५ गते अर्थात आजको दिन (१०० वर्ष) लाइ कसैले सम्झना नै गर्न सके ! नारी मुक्ती र परिवर्तनका निम्ति ठुल-ठुला भाषण छाट्दै हिड्ने बुझ्रुक ब्याक्तिहरुले पनि यस सन्दर्भमा आवाज उठाईएको कहिँ कतै पनि पाईएन ।
नेपालमा प्रत्येक बर्ष मार्च ८ लाइ नारी दिवशको रुपमा मानेता पनि दुख लाग्दो कुरा नेपाल भित्रै बर्षौ देखि नारीमाथि लादिएको कु प्रथा अन्त्य भएको दिन यानिकी महिलाले मुक्ति पाएको दिन असार २५ लाइ सम्झिन सकी रहेका छैनौ । बर्तमान परिपेक्ष्यमा सती प्रथा, सुसारे प्रथाहरुको अन्त्य भएर गएता पनि नारी माथिको अन्याय, अत्याचार र दमनको भने अझै पनि अन्त्य भएको छैन ।
अझै पनि अन्ध बिश्वाशी समाज अनि पितृ सतात्मक राज्य शत्ताले नारी जातीहरु माथी दाइजो प्रथा, देउकी प्रथा, कुमारी प्रथा, कमलरी प्रथा, बिधुवा प्रथा, बाल बिवाह प्रथा, छाउपाडी प्रथा, बोक्सी प्रथा, भाउजुलाई श्रीमती बनाउने प्रथा, नछुने प्रथा (महिनावारी/मिन्स) लादेर नारी माथी हिँसा र शोषण हाम्रै समाजहरुबाट भई नै रहेको छ । आज भन्दा १०० वर्ष अगाडि सती त एकै पटक आगोमा जल्थे तर यस्ता सामाजिक कु प्रथा र बिकृतिको कारण आज नारीहरु जीवनमा पटक पटक जल्नु परेको छ । जब सम्म यस्ता अन्धबिस्वाशी समाजले नारीहरु माथी जबरजस्ती लादिएका कु प्रथाहरुको अन्त्य हुन् सक्दैन अनि स्वायम नारीहरु बन्द पर्खाल भित्रको चार किल्लालाई तोडेर बाहिर आउँन सक्दैनन् तबसम्म नारि मुक्ति र परिवर्तनका बाटाहरु सम्भव छैन ।
जसरी अहिले आएर सति प्रथा, सुसारे प्रथा जस्ता कु प्रथाहरुको उन्मुलन भयो त्यसरी नै नारी माथि लादिएका यस्ता सबै कु प्रथाको अन्त्य हुन् जरुरी छ । तब मात्र नारी मुक्ती र परिवर्तनका बाटाहरु सम्भव छ ।
लेखक : ओम श्रेष्ठ युवा संघ अध्यक्ष, उदयपुर