असाढ़ २६ मुम्बई __ बलिउडमा हलमा फिल्म रिलिज गर्न त समस्या छँदैथियो अब ओटीटीमा रिलिज गर्न पनि निर्माताले राम्रै मेहनत गर्नुपर्ने भएको छ । सानो सानो कुरामा पनि दर्शकले असन्तुिष्ट व्यक्त गर्दै फिल्मलाई बन्द गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
सामाजिक सञ्जालमा फिल्म ‘बाइकट’ गर्ने अभियान नै चल्ने गरेको छ । पछिल्लो समय यसको सिकार भएको छ, ‘तूफान’ । फरहान अख्तर र मृनाल ठाकुरको मुख्य भूमिका रहेको यो फिल्म आउँदो शुक्रबार अमेजन प्राइममा रिलिज हुँदैछ ।
तर, शनिबार बिहानैदेखि ट्विटरमा यो फिल्म बहिष्कार गर्ने ट्रेन्ड सुरु भएको छ । फिल्मले अन्तर धार्मिक प्रेमकथा देखाएको र यो देशको संस्कृतिको विरोधी रहेको भन्दै यो फिल्म बहिष्कार गर्न उक्साएका हुन् । फिल्ममा फरहानले अजिज नामको चरित्र निर्वाह गरेका छन् जो मुसलमान हो भने मृनाल ठाकुर हिन्दु ।
मृनालले निर्वाह गरेको पूजा नामको चरित्रको प्रेरणाले गैंगस्टर अजिज बक्सिङ तर्फ आकर्षित हुन्छन् र खेलमा नयाँ उचाइ लिन्छन् । यो फिल्मलाई राकेश ओमप्रकाश मेहराले निर्देशन गरेका हुन् जसले फरहानलाई नै लिएर ‘भाग मिल्खा भाग’ निर्देशन गरेका थिए ।
यसअघि अमेजनमा नै रिलिज भएको ‘फेमिलीमेन’को दोस्रो भागलाई पनि तमिलियन दर्शकले प्रतिबन्ध लाउन माग गरेका थिए । यो सिरिजले तमिलियनलाई आतंकवादीको रुपमा चित्रण गरेको आरोप थियो । तर, प्रदर्शनपछि भने सामान्थाको चरित्र र कामलाई लिएर हरकोही सन्तुष्ट भएका थिए ।