‘सरकारको उपहार, महङ्गी र भ्रष्टाचार !’

असाढ़ २४ काठमाडौं __ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन भएको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनले मूल्यवृद्धि र सुजिता भण्डारीले न्याय पाउनुपर्ने भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले पटक पटक भएको मुल्यवृद्धि खारेज गर, कालाबजारी नियन्त्रण गर, हत्या हिंसामा संलग्नलाई कारबाही गर, सरकारको उपहार महँगी र भ्रष्‍टाचार लगाएतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरूले मुलुकमा महिला हिंसा, हत्या, बलात्कारका घटना नियन्त्रणमा संलग्नलाई कानुनी दायरामा ल्याउन ढिलाइ भएको भन्दै सरकारविरोधी नारा लगाएका थिए । त्यस्तै जनतालाई महँगी उपहार दिएर सरकार व्यापारी बनेको आरोप समेत लगाएका छन् ।

नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले सत्ताको चलखेलमा जनताले दुख बाहेक केही नपाएको भन्दै जनताको पक्षमा लड्नुपर्ने बेला आएको बताए । ढकालले अहिलेको संसदीय व्यवस्था नै खराब भएको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने उल्लेख गरे । प्रदर्शनमा सहभागीहरूले जनताको सवालमा सदैव खबरदारी गर्ने बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्