असाढ़ लागेयता दैनिक १० अर्बको हाराहारीसम्म सरकारलाई भुक्तानीमा चाप

असाढ़ २२ काठमाडौं__ चालू आर्थिक वर्ष अन्तिम हुन लाग्दा विगतमा जस्तै यसपालि पनि सरकारलाई भुक्तानीमा चाप देखिएको छ । असार लागेयता दैनिक १० अर्बको हाराहारीसम्म खर्च हुँदा भुक्तानीमा चाप देखिएको अधिकारीहरूले बताएका छन् । सरकारी आयव्ययको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १ मा मात्रै सरकारले कुल बजेट रू. १ अर्ब ५३ करोड १५ लाख खर्च गरेकोमा दैनिक खर्चको सीमा बढेर असार २० मा मात्रै अर्थात् एकै दिन रू. ९ अर्ब ४८ करोड ६७ लाख सरकारी कोषबाट खर्च भएको देखिन्छ ।

आइतवारसम्ममा कुल बजेट ७० प्रतिशत खर्च भएको छ । चालूतर्फ ८२ दशमलव ९८ भएको छ तर विकास अर्थात् पूँजीगततर्फ छुट्ट्याइएको बजेट भने ५० प्रतिशत पनि खर्च भएको देखिँदैन । अहिलेसम्म पूँजीगततर्फ विनियोजनको ४६ दशमलव ९८ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । सरकारले आर्थिक वर्षको अन्त्यभन्दा केही महीनाअघि नै विनियोजित बजेट खर्च गर्न प्रणालीगत सुधारमा ध्यान दिइरहेको बारम्बार दाबी गर्दै आएको छ तर परिणाममा भने त्यस्तो देखिँदैन ।

महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरूका अनुसार गतवर्षमा भन्दा यस वर्ष दैनिक निकासामा खासै फरक छैन । सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलका अनुसार प्रत्येक दिन निकासा रकमको सीमा बढिरहेको छ । भुक्तानीका लागि आर्थिक वर्षको अन्त्यमा रहने चाप कायमै देखिएको उनी बताउँछन् ।

खर्चको सीमा असार लागेयता दैनिक बढे पनि सरकारले अभैm पनि ४ खर्ब ३७ अर्ब २३ करोड १६ लाख रुपैयाँ बजेट खर्च गर्न बाँकी छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख बराबरको बजेट ल्याएका थिए । उक्त बजेट असार २० सम्ममा १० खर्ब ३७ अर्ब ४१ करोड ३८ लाख खर्च भएको देखिन्छ ।

पछिल्ला वर्षहरूमा चैत अघिसम्म बजेट नै खर्च नहुने त्यसपछि मात्रै बजेट खर्च गर्ने प्रवृत्ति बढेको देखिन्छ । यसमा अर्थविद् तथा जानकारहरूले प्रश्न उठाउँदै आएका छन् । आर्थिक वर्षको अन्त्यतिर हुने खर्च दिगो नहुने उनीहरूको बुझाइ रहँदै आएको छ । अर्थविद् डा.विश्वम्भर प्याकुरेल चालू वर्षमा पनि अन्त्यमा खर्च गर्ने प्रवृत्ति कायमै देखिएको बताउँछन् । उनका अनुसार यसले खर्च गर्ने शैलीमा अझै परिवर्तन आएको देखिएन । खर्च प्रणालीलाई सुधार्न सरकारले नसकेको स्पष्ट देखिने उनको बुझाइ रहेको छ । श्रोत आर्थिक अभियान

यहाँ कमेन्ट गर्नुहोस्