असाढ़ १८ काठमाडौं__ प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र एमालेका सांसदले सर्वोच्चमा विचाराधीन मुद्दामा भएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने चेतावनी दिएका छन् ।शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेका २३ सांसदले सोमबार साँझसम्म जसरी पनि हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका छन् ।
बैठकले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।पार्टी एकताका लागि भन्दै १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गरी आज बैठक बोलाइएको थियो । तर, बैठकमा माधव नेपाल समूहका शीर्ष नेताहरुको सहभागिता छैन ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तोकिएको समयावधिभित्र हस्ताक्षर फिर्ता नदिने पार्टी एकताका लागि अब प्रयास नहुने चेतावनी दिएका छन् । उनले भने, ‘दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’
आफू पार्टी एकताका लागि हदैसम्म लचक हुँदा पनि अर्को पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउने एजेण्डाबाट पछि नहटेको भन्दै ओलीले उक्त कुरा कुनै हालतमा स्वीकार नहुने बताए ।‘आफ्नो दलको सरकार ढालेर अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने कुरा किमार्थ स्वीकार्य हुँदैन । त्यसो गर्नु भनेको पार्टी फुटको घोषणा गर्नु हो’, ओलीले चेतावनी दिँदै भने ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि १४९ सांसदसहित कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दाबीमा नेपाल समूहका २३ सांसदको हस्ताक्षर छ ।एमाले संसदीय दलका नेता केपी पनि एमाले र जसपाको समर्थन रहेको भन्दै दाबी पेश गरे ।
राष्ट्रपतिले दुबैको दाबी नपुगेको निर्णय सुनाएपछि ७ जेठको मध्यरातमा प्रतिनिधिसभा भंग गरिन् । उपाध्यक्ष वामदेव गौतमले निर्देशनको समयावधि लम्भ्याउनुपर्ने धारणा राखे पनि बैठकले एकताका लागि अन्तिम प्रयास भन्दै दुई दिनभित्रै हस्ताक्षर फिर्ता लिनुपर्ने निर्देशन दिएको हो ।