नेपालमा भारत र पाकिस्तानको भन्दा कोरोना संक्रमण र मृत्यु दर बढी

असाढ़ १६ काठमाडौं___ नेपालमा भारत र पाकिस्तानको भन्दा बढी कोभिड–१९का सक्रिय संक्रमित फेला परिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता कृष्णप्रसाद पौडेलले दक्षिण एशियाली देशहरुमध्ये नेपालमा संक्रमण श्रीलंकापछि उच्च दरमा रहेको जानकारी दिए।

‘पहिलो र दोस्रो लहरमा प्रति १० लाख ३ सय भन्दा बढी संक्रमित दैनिक रुपमा भेट्ने गरेकोमा अहिले पनि भारत भन्दा प्रति १० लाखमा उच्च रहेका छौं,’ उनले भने, ‘अहिले पनि ५० प्रति १० लाख संक्रमितहरु पत्ता लागिरहेको अवस्था छ।

जुन भारत र पाकिस्तान भन्दा बढी हो भने, श्रीलंका भन्दा कम हो।’ उनका अनुसार मृत्यु दर पनि भारत र पाकिस्तान भन्दा नेपालमा बढी रहेको छ। ‘मृत्यु पनि प्रति १० लाखमा करिब १ दशमलब ४ जति छ। त्यो भनेको श्रीलंका भन्दा पछिको अवस्था हो। हामी भन्दा कम मृत्यु भारत र पाकिस्तानमा छ’ प्रवक्ता पौडेलले भने।

नेपालमा कोरोनाविरुद्धको खोप १० प्रतिशत जनसंख्यामा पनि पुर्‍याउन नसकिएको उनले बताए। ‘करिब ८.७ प्रतिशत जनसंख्यालाई एक डोज भएपनि खोप लगाएका छौं’ उनले भने।

यहाँ कमेन्ट गर्नुहोस्