मनसुन सक्रिय भए पनि असार १५ सम्म २७.१२ प्रतिशत मात्रै धान रोपाइँ

असाढ़ १६ काठमाडौँ__ समयमै मनसुन सक्रिय भए पनि असार १५ सम्म २७.१२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । जेठ अन्तिम साता पूर्वबाट प्रवेश गरेको यस वर्षको मनसुन देशैभर फैलिएको छ । तर रोपाइँ भने गत वर्षको यही अवधिको भन्दा ८.३६ प्रतिशतले कमी भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको असार १५ सम्म ३५.४८ प्रतिशत रोपाइँ भएको थियो ।

बर्खे सिजनमा मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । असार १५ सम्म ३ लाख ७१ हजार ९ सय ५८ हेक्टरमा मात्रै रोपाइँ भएको छ । ‘गत वर्षको असार १५ सम्मको तुलनामा केही कम भएकै हो,’ मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले भने, ‘अव व्यापक हुन्छ । १०/१५ दिनमा रोपाइँ ६०–७० प्रतिशत पुग्छ ।’ नेपालमा सबैभन्दा बढी मध्य, पूर्व र तराईमा बढी धान खेती हुन्छ । तर यस पटक तराईमै रोपाइँ कम भएको छ ।

मन्त्रालयको विवरणअनुसार प्रदेश १ मा २ लाख ७५ हजार ९ सय १ हेक्टरमा रोपाइँ हुने गरेकोमा अहिलेसम्म १८ प्रतिशत अर्थात् ४९ हजार ६ सय २३ हेक्टरमा मात्रै धान रोपिएको छ । जबकि, गत वर्षको असार १५ सम्ममा २१ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेश २ मा ३ लाख ६५ हजार ६ सय १५ हेक्टरमा रोपाइँ हुन्छ । जसमध्ये १०.५५ प्रतिशत अर्थात् ३८ हजार ५ सय ८५ हेक्टरमा मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा २९ प्रतिशत रोपाइँ भएको थियो । वाग्मती प्रदेशमा १५ प्रतिशत कम रोपाइँ भएको छ । १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रमध्ये २४ हजार २ सय ८८ हेक्टर (२१ प्रतिशत) मा मात्रै धान रोपिएको छ । गत वर्ष असार १५ सम्म यो तथ्यांक ३६.२२ प्रतिशत थियो । गण्डकी प्रदेशको अवस्था पनि उस्तै छ ।

गत वर्षको असार १५ सम्मको तुलनामा रोपाइँ ५० प्रतिशतले घटेको छ । विवरणअनुसार गण्डकीमा १ लाख ८ हजार २ सय ७८ हेक्टरमा रोपाइँ हुन्छ । जसमध्ये १५.३४ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ३५.६६ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार मुलुकभर २५–३३ प्रतिशत जमिनमा सिँचाइ सुविधा छ ।

नेपालको खेती प्रणाली मनसुनमै आधारित हुँदा धान रोपाइँका लागि मनसुन कुर्नुपर्ने बाध्यता छ । सिँचाइ र रासायनिक मल र गुणस्तरीय बीउको अभावले पनि उत्पादन बढ्न सकेको छैन । जमिनको उत्पादकत्व पनि घटिरहेको छ । जसले गर्दा बर्सेनि करोडौं रुपैयाँको चामल आयात भइरहेको छ । प्रवक्ता घिमिरेले भने यस वर्ष धान उत्पादन वृद्धि हुने दाबी गरे । ‘अहिले रासायनिक मलमा समस्या छैन ।

कोभिड–१९ पनि विस्तारै कम हुँदै छ,’ उनले भने, ‘प्रारम्भिक आकलनअनुसार गत वर्षभन्दा धान रोपाइँ हुने क्षेत्रफल र उत्पादन बढ्न सक्छ ।’ लुम्बिनी प्रदेशमा भने गत वर्षकै सरह झन्डै ४६ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा ३ लाख ३ हजार ५ सय ९३ हेक्टरमा धान खेती हुन्छ । कर्णालीमा गत वर्षको असार १५ सम्मको तुलनामा १३ प्रतिशत बढी रोपाइँ भएको छ ।

कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये २३ हजार ८ सय ५० हेक्टरमा रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा १ लाख ६४ हजार ६ सय ३९ हेक्टरमा धान खेती हुन्छ । जसमध्ये ४८.३१ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । गत वर्षको असार १५ सम्म ४९.५४ प्रतिशत भएको थियो ।

भौगोलिक क्षेत्रअनुसार उच्च पहाडमा ४८ हजार १ सय ९३ हेक्टरमा धान खेती हुन्छ । जसमध्ये १६ हजार १ सय ३५ हेक्टरमा रोपाइँ भएको छ । मध्य पहाडमा ३ लाख ४६ हजार ९९ हेक्टरमध्ये १ लाख ७ हजार १ सय १५ हेक्टरमा रोपाइँ भएको छ । तराईमा ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमध्ये २ लाख ४८ हजार ७ सय ८ हेक्टरमा धान रोपिसकिएको छ । # साभार कान्तिपुर

यहाँ कमेन्ट गर्नुहोस्