नेपालमा संक्रमणदर स्थिर, देशभर निषेधाज्ञा खुकुलो बनाइँदै

असाढ़ १५ काठमाण्डौं __ पछिल्लो दुई सातादेखि कोरोना संक्रमणदर करिब २० प्रतिशतकै हाराहारीमा स्थिर भए पनि सरकारले निषेधाज्ञा भने खुकुलो बनाउँदै लगेको छ । मंगलबारदेखि उपत्यकालगायत विभिन्न जिल्लामा सार्वजनिक यातायातसमेत सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले भने सार्वजनिक यातायातसमेत सञ्चालन गर्न दिने गरी संक्रमणदर कम भएको देखाउँदैन । पछिल्लो २४ घन्टाको अवधिमा ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा दुई हजार चार सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात् संक्रमणदर करिब २१ प्रतिशत छ ।

दुई सातायता संक्रमणदर स्थिर अर्थात् २० प्रतिशतको हाराहारीमा छ । संक्रमणदर नघटे पनि निषेधाज्ञामा लगाइएका बन्देजहरू भने घट्दै गएका छन् । विश्व स्वास्थ्य संगठनले पाँच प्रतिशतभन्दा धेरै संक्रमणदरलाई जोखिमपूर्ण भनेको छ ।

उपत्यकामा संक्रमण फेरि बढ्न थालेको संकेतसमेत देखिएको छ । उपत्यकामा सोमबार एक सातायताकै धेरै अर्थात् पाँच सय १४ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार पनि उपत्यकाका तीनै जिल्लामा संक्रमण बढेको थियो ।

उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । २५ सिटभन्दा धेरै क्षमताका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको छ । सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी जोर–बिजोर प्रणालीमा ठूला बसहरू सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले बताए ।

सपिङ मल तथा पसलहरू सातै दिन खोल्न पाइने भएको छ । खाद्य पसल पनि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । विवाह तथा व्रतबन्धमा १५ जनासम्म सहभागी हुन सक्ने र ब्यानर टाँसेर दुईवटासम्म गाडी प्रयोग गर्न पाइने नियम लागू गरिएको छ ।

निजी सवारीमा जोर–प्रणाली कायमै राखिएको छ । होटेल तथा रेस्टुरेन्टले होम डेलिभरी तथा टेक–अवे सेवा मात्र दिन पाउनेछन् । उपत्यकाबाहिरका कतिपय जिल्लाले पनि सार्वजनिक यातायात तथा बजार खुलाउने निर्णय गरेका छन् ।

पछिल्लो एक सातामा संक्रमणदर घटेकाले थप व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका सिडिओ पराजुलीले बताए । ‘संक्रमण फेरि बढ्न थाल्यो भने हामी कडाइ गर्न बाध्य हुन्छौँ,’ उनले भने, ‘परिस्थितिअनुसार निर्णय हुन्छ ।’

उपत्यकामा एक सातामा तीन हजार संक्रमित थपिए, ४७ को मृत्यु

काठमाडौं, ललितपुर र भक्तपुरमा पछिल्लो सात दिनमा दुई हजार नौ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा संक्रमणबाट ४७ जनाको मृत्यु भएको छ । उपत्यकामा सक्रिय संक्रमितको संख्या भने घट्दै गएको छ । गत मंगलबार नौ हजार तीन सय ४२ सक्रिय संक्रमित रहेकोमा सोमबार यो संख्या आठ हजार तीन सय ९७ मा झरेको छ । संक्रमणबाट उपत्यकामा अहिलेसम्म दुई हजार सात सय ७५ जनाले ज्यान गुमाइसकेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्