जिल्लालाई खोप युक्त बनाउन उदयपुरका आठवटै स्थानीय तह सहमत

४ जेष्ठ उदयपुर । उदयपुर विकास बोर्ड ले आगामी आर्थिक बर्षमा क्षेत्रगत बजेट बाँडफाँडमा पूर्वाधारतर्फ विनियोजन गरिने सम्पूर्ण रकम कोरोनाविरुद्धको खोप खरिदमा लगाउने निर्णय गरेका छन् । उदयपुर विकास बोर्डका संयोजक तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीको संयोजकत्वमा बसेको बैठकले यो निर्णय गरेको हो ।

जिल्ला भरिका १८ बर्ष माथिका करीव दुई लाख नागरिकलाई आवश्यक पर्ने कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न आवश्यक बजेट बोर्डले जिल्लाका आठै वटा पालिकाबाट संकलन गर्ने भएको छ । र त्यसका लागि सवै पालिकाले पूर्वाधार विकासतर्फको बजेट खर्च गर्न स्वीकृतिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी अध्यक्ष चौधरीले दिनुभएको छ ।

‘विकास पनि गर्दै जाम्ला तर सरकारले खोप उपलब्ध गराउन नसक्ने अवस्था आए स्थानीय तहहरुले आफैं किनेर भएपनि जिल्लाबासीलाई खोप उपलब्ध गराउने कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनु भएको छ । स्मरणीय छ, यसै बोर्डको अगुवाइमा बेल्टार सातधारेमा ५ करोडको लागतमा कोभिड १९ अस्पताल निर्माण तथा सञ्चालन पनि हुँदै आएको छ ।

यसैगरी सो बैठकले बेलका नगरपालिकास्थित बेलका नगर अस्पतालमा सय दिनभित्रै करिब १ करोड १९ लाख रुपैयाको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय समेत गरेको छ । प्लान्ट स्थापनाको लागि बेलका नगरपालिकाले २० लाख र बाँकी नगरपालिकाले दस दस लाख र पालिकाहरुले पाँच पाँच लाखको दरले रकम जम्मा गर्ने सहमति भएको छ । अक्सिजन प्लान्टका लागि सर्वपक्षीय सहकार्य मोडलबाट काम गरिने भएको छ । र थप आवश्यक श्रोतका लागी सहयोगी संस्थाहरु सँग आवहान गरिने  बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिनुभएको छ ।

सो प्लान्टले प्रतिघण्टा ६ दशमलव ५ क्यूबिक मीटर ग्याँस उत्पादन गर्ने लक्ष्य राखिएको छ । अर्थात् २४ सिलिन्डर उत्पादन हुन्छ ।

प्रविधि (जुम एप्स) को प्रयोग गरी आयोजना गरिएको बैठकमा बोर्डका सदस्यहरु कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, चौदन्डीगढी नगर प्रमुख खगेन्द्र राई, बेलका नगर दुर्गा कुमार थापा, उदयपुरगढी गाउँपालिका प्रमुख मानबहादुर मगर, रौतामाई गाउँपालिका प्रमुख गजेन्द्र खडका, ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापा र लिम्चुङबुङ गाउँपालिका प्रमुख मेजर राई सदस्य रहेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्