पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट उदयपुरमा तीनको मृत्यु

४ जेष्ठ उदयपुर । पछिल्लो २४ घण्टामा उदयपुरमा कोरोना भाइरसबाट तीन जनाको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीका अनुसार ३४, ८५ बर्षिय पुरुष र ५० बर्षिया महिलाको ज्यान गएको हो ।
सुबेदीका अनुसार कोरोना संक्रमणपछि होमआईसोलेसनमा बस्दै आएका त्रियुगा नगरपालिका ११ की ५० बर्षिया महिलाको मंगलबार दिउँसो ज्यान गएको हो । दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

त्यसैगरी चार दिन अघि विराटनगरस्थित नोवेल अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि होमआईसोलेसनमा बस्दै आएका त्रियुगा नपा १२ का ३४ बर्षिय युवाको उपचारका लागि आईसोलेसन वार्ड मदन भण्डारी आँखा अस्पतालमा लैजानेक्रममा ज्यान गएको हो ।

त्यस्तै कटारी नगरपालिका ३ का ८५ बर्षिय बृद्धको सोमबार राती उपचारकोक्रममा सिरहाको फुलकुमारी अस्पतालमा ज्यान गएको छ । जेठ १ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भई उपचार गर्दै आएका थिए ।

जिल्लामा हालसम्म २ सय ४७ पुरुष र १ सय ८७ महिला गरी चार सय ३४ जना संक्रमित रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्