असाढ़ १२ सर्लाही __ सर्लाहीमा एक वडाध्यक्षको हत्या गरिएको छ । हत्याको आरोपमा दुईजनालाई पक्राउ समेत गरिएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका -३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति जेसिभीको बकेटले प्रहार गरी हत्या गरिएको हो ।
सोही वडास्थित मुखलाल बाँधमा नगरपालिकाद्वारा भइरहेको पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर उनको हत्या गरिएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले जानकारी दिए ।
पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेक्केदार प्रेम दाहाल र जेसिभी चालक हर्षबहादुर तामाङसँगै खाजा खान एक होटलमा पुगेको र त्यही भनाभन सुरु भएपछि विवाद समेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
खाजा खाएर पोखरीसम्म भनाभन जारी नै रहेको र सोही क्रममा वडाध्यक्षले ड्राइभर तामाङलाई चप्पलले हिर्काएपछि उनी रिसमा आएर जेसिभीको बकेटले प्रहार गरी उनको हत्या गरेको डिएसपी कुँवरले बताए ।
विवादका क्रममा आक्रोशित जेसिभी चालकले श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेका थिए । उनको हत्या गरी शव त्यहीँ पुरेर चादक तामाङ फरार भएका थिए । खोजबिन गर्दैजाँदा प्रहरीले जेसिभी चालक तामाङ र जेसिभी धनी दाहाललाई शनिबार बिहान पक्राउ गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।