सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १ सय २० पालिकाले मात्रै बजेट ल्याएको विवरण प्राप्त

असाढ़ १२ काठमाडौं__ हरेक पालिकाले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म जम्मा एक सय २० वटा पालिकाले मात्रै बजेट ल्याएको विवरण पेस गरेका छन् । ७ सय ५३ मध्ये ६ सय ३३ पालिकाले बजेट ल्याएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका छैनन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै गण्डकी प्रदेशका ८५ मध्ये २२ वटा अर्थात २५ दशमलव नौ प्रतिशत पालिकाले बजेटको विवरण पेस गरेका छन् । प्रदेश-१ का १ सय ३७ पालिकामध्ये जम्मा २६ वटाले, प्रदेश-२ का १ सय ३६ मध्ये १३ वटाले मात्रै, वाग्मतीका १ सय १९ पालिकामध्ये १५ वटाले, लुम्बिनीका १ सय ९ पालिकामध्ये २० वटाले, कर्णालीका ७९ मध्ये १० र सुदूरपश्चिमका ८८ मध्ये १४ वटा पालिकाले मात्रै बजेट ल्याएको विवरण पेस गरेका छन् । बजेट ल्याएपछि तत्कालै विवरण पेस गर्नको लागि पटक-पटक ताकेता गरे पनि पालिकाले अटेरी गरेका मन्त्रालयले जनाएको छ ।

६ सय ७०/८० वटा पालिकाले बजेट ल्याएको अनौपचारिक जानकारी प्राप्त भए पनि मन्त्रालयको पोर्टलमा जम्मा एक सय २० वटा पालिकाले मात्रै विवरण इन्ट्री गराएको र यसैलाई नै आधिकारिक मानिने सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनु भएको छ ।

‘बजेट आउने अघिल्लो दिनसम्म पनि प्रमुख प्रशासकीय अधिकृतहरुलाई म्यासेज र फोनबाट बजेट आउनेबित्तिकै पोर्टलमा समावेश गर्नु भनेर निर्देशन दिए पनि अहिलेसम्म धेरैले अटेरी गरिरहेका छन् ’अधिकारीले भन्नुभयो । पोर्टलमा विवरण पेस गर्न जम्मा पाँच मिनेटको समय लाग्ने भए पनि गैरजिम्मेवारीका कारण समस्या भएको उहाँको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्