३ जेष्ठ उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । आईतबार बेलुका ७ बजे त्रियुगा नगरपालिका १ का ३७ बर्षिय युवाको जिल्ला अस्पतालमा ज्यान गएको हो ।
ज्वरोबाट ग्रसित उनी बैशाख २८ गते जिल्ला अस्पतालमा उपचारका लागि पुगेका थिए । चिकित्सकले कोरोनाको लक्षण देखिएको भन्दै एन्टिजेन टेष्ट गर्दा उनलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि उनी सामान्य औषधि लिएर घरमै आइसोलेसनमा बस्दै आएका थिए ।
आईतबार दिउँसो अक्सिजनको मात्रा कम भएपछि उनलाई उपचारका लागि उदयपुर कोभिड अस्पतालमा पठाइएको थियो । कोभिड अस्पतालमा विरामीको चाप बढेको भन्दै जिल्ला अस्पताल रेफर गरिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
अहिलेसम्म ३ महिला र ९ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने अहिलेसम्म ३७९ जना कोरोना संक्रमित भएका छन भने १४ जना कोरोनामुक्त भएका छन् ।