वीरगंजमा आज थप १० जना संक्रमितको मृत्यु

जेष्ठ २ वीरगंज____वीरगंजमा उपचार गराइरहेका थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंजको नारायणी अस्पतालमा ८ जना, वीरगञ्ज हेल्थ केयरमा १ जना र नारायणी बयोधा अस्पतालमा १ जना गरी १० जनाको मृत्यु भएको हो। वीरगंजस्थित नारायणी अस्पतालमा आज दिउँसो १२:५० बजे बारा जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी ३३ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ।

वैशाख २९ गते संक्रमित भई नारायणी अस्पतालमा भर्ना भएका पुरूषको उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए। नारायणी अस्पतालमै आज ११:३० बजे बाराको छातापिपरा गाउँपालिका वडा नम्बर ९ निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

वैशाख २४ गते पिसिआर परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएका पुरूष होमआइसोलेसनमा बसेको र श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २८ गते नारायणी अस्पतालमा भर्ना भएको र आज दिउँसो उपचारको क्रममा मृत्यु भएको डाक्टर दासले बताए।

यसैगरी वीरगञ्जको नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मिथिला नगर निवासी ४४ वर्षीय पुरूषको आज बिहान ८.४५बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिए ।

वैशाख १५ गते नारायणी अस्पताल भर्ना भई उपचार गराउने क्रममा पिसिआर रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा उच्च निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएपछि पुरूषको आज बिहान मृत्यु भएको डाक्टर दासले बताए। त्यस्तै, नारायणी अस्पतालमा आज बिहान ५:३० बजे सर्लाही जिल्ला फरहतवा वडा नम्बर ४ निवासी ४७ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

वैशाख २१ गते अस्पतालमा भर्ना भएकी महिलाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा आज मृत्यु भएको डाक्टर दासले बताए। बाराको कलैया उपमहानगरपालिका वाडा नम्बर २५ शिसहनियाँ निवासी ३८ वर्षीया महिलाको समेत उपचारको क्रममा आज बिहान मृत्यु भएको छ।

संक्रमित भई वैशाख २५ गते अस्पताल भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको डाक्टर दासले बताए। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ निवासी ६० वर्षीय पुरूषको समेत आज बिहान मृत्यु भएको छ। गत वैशाख ३० गते नारायणी अस्पतालमा भर्ना भएका पुरूषको उपचारको क्रममा आज बिहान मृत्यु भएको दासले बताए।

बाराकै प्रसौनी गाउँपालिका वाडा नम्बर ५ निवासी ४६ वर्षीय पुरूष र निजगढ नगरपालिका वडा नम्बर ७ निवासी ४३ वर्षीय पुरूषको गएराति उपचारको क्रममा मृत्यु भएको डाक्टर दासको भनाइ छ। दुबै जनाको उच्च निमोनियाको कारण मृत्यु भएको डाक्टर दासले बताए।

यता वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान उपचारको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी ६४ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। बयोधा अस्पतालको आइसोलेसन वार्डमा वैशाख १६ गतेदेखि उपचारका लागि भर्ना भएका पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिए।

त्यस्तै, वीरगञ्ज हेल्थकेयरमा आज बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर- १० निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको छ। गत वैशाख २७ गते संक्रमित भएकी उनको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्