![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/krishnachandra-nepali-2942018075030-1000x0-29042018121950.jpg)
०६ असार कास्की । गण्डकी प्रदेशमा अर्थ मन्त्रालय कांग्रेसले आफैं राख्न खोजेपछि गठबन्धनमा दरार आएको छ।
सरकार बनाउदा भएको सहमति अनुसार जनता समाजवादी पार्टीले मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। २ सभासद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने सहमती गरेको थियो।
जसपाले अडान नछाडेपछि गण्डकी सरकारको मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडको लागि बसेको बैठक निस्कर्षविहीन बनेको छ।
मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति बाटो तोडेको आरोप लगाएको छ। यता जसपाको आफैँ सर्वेसर्वा हुँ भन्ने व्यवहारले अर्को ठूलो घटक माओवादीको मन दुखाउने काम भएको कांग्रेसको गुनासो रहेको छ।
माओवादी केन्द्रले पनि अर्थ मन्त्रालयमा दावी गर्दै आएको छ। तर, भौतिक पुर्वाधार भए पनि माओवादी चित्त बुझाउने पक्षमा रहेको स्रोतले जनाएको छ। तर भौतिकमा स्वतन्त्र सांसद दीपक मनाङेको पनि दावीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली अप्ठ्यारोमा परेका छन्।
अहिले मनाङेसहित कांग्रेसका कुमार खड्का ,माओवादी केन्द्रकी मधु अधिकारी र जसपाका हरिशरण आचार्य गण्डकी प्रदेशको विनाविभागीय मन्त्रीको रुपमा काम गरिरहेको छ ।
गण्डकीमा ११ वटा मन्त्रालयमध्ये कांग्रेस र माओवादी केन्द्रले ४र४ जसपा २ र एउटा मन्त्रालय मनाङेलाई दिने सहमति रहेको थियो । २ सिट भएको र गठबन्धनलाई सघाएको जनमोर्चाले भने सरकारमा नजाने घोषणा गरिसकेको छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली असहमतिकै बीच आज काठमाडौ हिंड्दै छ्न्। केन्द्रीय तहमा कुरा गरेर भागबण्डा टुंगोमा पुर्याउने सोच उनले बनाएको स्रोतले जनाएको छ।
कांग्रेसमै कसलाई मन्त्री बनाउने भन्नेमा पनि सहमती जुटिसकेको छैन।माओवादी केन्द्रका सबै सभासद मन्त्रीका आकांक्षी देखिएका छन्। माओवादीमा पनि केन्द्रकै निर्णयले मन्त्री टुंगो लाग्ने अवस्था सिर्जना भएको छ।