कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई; त्यस्तो कुनै अधिकार दिइएको छैन : यादव

०५ असार काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद चर्के पछि अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णय सम्बन्धी दस्तावेज र समिति बैठकको निर्णयको प्रतिलिपि महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको छ।

यता जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले जाली काम गरेको बताउनु भएको छ । २०७७ पुस ७ गते कार्यकारिणी समितिको बैठक नबसेको र ठाकुरलाई कार्यकारिणी समिति फेरबदल गर्न अधिकार दिने सम्बन्धमा कुनै निर्णय नगरिएको यादवले जानकारी दिनु भयो।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार पार्टीको पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरिएको २०७७ पुस ७ गतेको कार्यकारिणी समिति बैठकको माइन्युटिङमा लेखिएको छ ।

यसैगरी २ नम्बर बुँदामा बैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारका लागि पहिलो वरीयताको अध्यक्षलाई दिने निर्णय गरिएको लेखिएको छ ।

बैठकको माइन्युटिङमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवसहित ३८ जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षर रहेको छ।

‘ठाकुरजीले सबै काम जाली गर्नुभएको छ। उहालाई त्यस्तो कुनै अधिकार दिइएको छैन’, जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने।

यहाँ कमेन्ट गर्नुहोस्