असाढ़ ३ काठमाडौं__ कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को दोस्रो बैठकले कोरोना सङ्क्रमणको जोखिम रोक्न अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी निषेधाज्ञा कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गर्ने निष्कर्ष निकालिएको छ ।
स्मार्ट लकडाउनमा अहिलेभन्दा धेरै क्षेत्रहरु खुल्नेछन् । तर त्यो सामान्य अवस्था भने होइन । अत्यधिक सुरक्षा सतर्कता अपनाएर लकडाउन खुकुलो बनाउने तयारीमा सरकारले गृहकार्य सुरु गरेको हो । सामान्यतः बहुसंख्यक नागरिकलाई खोप लगाएपछि ‘स्मार्ट लकडाउन’मा जानुपर्ने हो । तर सरकारले साउन लागेपछि मात्रै चीनबाट ४० लाख खोप ल्याउने तयारी गरेको छ ।
स्मार्ट लकडाउनमा एकैपटक सबैतिर लकडाउन नगर्ने तर सक्रिय संक्रमणको अवस्था हेरेर ठाउँठाउँमा लकडाउन गर्ने र बाँकी क्षेत्र खुला गर्नेगरी तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कति सक्रिय संक्रमित भए भने लकडाउन गर्ने लगायतका मापदण्डहरु बनाउने गृहकार्यसहित निषेधाज्ञाको अधिकारी स्थानीय तहहरुलाई दिनेगरी तयारी भइरहेको ती अधिकारीले जानकारी दिए ।
नागरिकलाई कोभिड खोप लगाउने र छिटो परीक्षण र छिटो कन्ट्याक्ट ट्रेसिङको स्मार्ट रणनीति अपाउने तरिका स्मार्ट लकडाउनको आधारभूत विषय भए पनि यसमा भने सरकारले पर्याप्त काम गर्न नसकिरहेको आलोचकहरुको टिप्पणी छ ।
प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गएराति अवेरसम्म बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया लगायतका देशहरूमा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
यी देशहरूबाट सातामा दुई हजार जना भन्दा नबढ्ने गरी हवाइ उडान सञ्चालन गर्नुपर्नेछ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ । बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने निर्णय गरेको छ ।
गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए । कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइ रहेको अनि आगामी साउनदेखि लगाउन थालिने बताए ।