जेष्ठ १ उदयपुर । उदयपुरमा समुदाय स्तरमा नै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समयावधी बढाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिसमा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले एक साताका लागि समय थप गरेका हुन् ।
कोविड संक्रमण को अवस्था बढ्ने क्रम नरोकिएपछि एकसाता थप निशेधाज्ञा लम्ब्याउने आदेश भएको प्रजिअ सेडाइले बताए । प्रशासनले जारी गरिएको सातादिने निषेधाज्ञा हिजो शुक्रबार राति सकिएको छ ।
प्रशासनले जेठ १ गतेदेखि ७ गते सम्मका लागि लागु हुने गरी समय थप गरेको हो । सर्वसाधरणको आवतजावत जति कम भयो, उत्ति संक्रमण कम गर्न सकिने भएकाले निशेधाज्ञा लम्ब्याउनु परेको सिडिओ सेडाईको भनाई छ ।
जिल्लामा हालसम्म १ सय ४६ जना महिला र २ सय १५ जना पुरुष गरी ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीका अनुसार कोरोनाबाट तीन महिला र चार पुरुषको ज्यान गईसकेको छ । संक्रमितहरु अधिकांस होम आईसोलेसनमै बसेर उपचार गरिरहेका छन् । हालसम्म २ महिलासहित ४ जना निको भएर घर फर्केका छन् ।
बैठकले यसअघि बिहान ६ बजेदेखि १० बजेसम्म बजार खोल्न दिने निर्णयलाई परिमार्जन गर्दै दैनिक उपभोग्य बस्तु वाहेक सबै बन्द गराउने निर्णय गरेको प्रजिअ तथा डिसिसीएमसीका संयोजक सेडाइले जानकारी दिए ।
त्यसैगरी बैठकले अत्यावश्यक वा विशेष काम औषधि, खाद्यबस्तु वा सेवा खरिद विक्री वाहेक सामान्यत कसैलाई पनि घर वाहिर ननिस्कन र निस्कनै पर्ने अवश्था भए सामाजिकदुरी, स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्न आग्रह गरेको छ ।
वजार, मेला, जात्रा, महोत्सव, पार्टी भोजलाई रोक लगाउने र गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसारका सवारीसाधन र व्यापार व्यवसाय मापदण्ड पुरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।