सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको समस्या समधान हुने

दशकदेखि भोगीरहेको पहिरो समाधानहुने आश

३१ जेठ सोलु । सोलुको साल्मे-सिस्नेरी पहिरोको दीगो व्यवस्थापन गरिने भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने सदरमुकाम सल्लेरी बजचरलाई जोड्ने एक मात्र सडकखण्डमा पर्ने यो पहिरो व्यवस्थापनका लागि काम अघि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुरले जनाएको छ ।

जीओ टेक्निकल विधिबाट स्लोप स्टेपलाइजेशनको प्रकृया अघि बढेको डिभिजन प्रमुख अरुणकुमार कर्णले जानकारी दिनुभयो । करिव एक दशकदेखि भोगीरहेको पहिरो समाधानका लागि केही समयअघि प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण समेत गरिसकेको छ । अर्को वर्षसम्म पहिरोको दीगो व्यवस्थापनको काम सकिने र जनताले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने डिभिजन प्रमुख कर्णले जानकारी दिनुभयो ।

सडक निर्माण गरेको झण्डै १० वर्ष पूरा भइसक्दा पनि सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लामा पर्ने पहलमान भीर र सिस्नेरी पहिरोका कारण हिउँद बर्खामा जहिले पनि सडक अवरुद्ध हुँदा यात्रुले दुःख खेप्दै आइरहनु परेको छ ।

बर्खा लागेसँगै विगतका वर्षमा जिल्लामा सञ्चालित हाइड्रोपावर र सोलुदूधकुण्ड नगरपालिकाको एक्स्काभेटर तयारी अवस्थामा राखेर सडक नियमित सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ । यस वर्ष पनि बाटोलाई नियमित सञ्चालनकोलागी एक्स्काभेटर तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्