खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी रोक

३० जेठ काठकाण्डौं ।नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सङ्घले नेपाल आयल निगमलाई आज पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।

दोस्रो लहरको संक्रमणका कारण ट्याङ्कर चालक, सहचालक, पम्पका कर्मचारी लागयत तिनका परिवारका सदस्यको समेत निधन भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थकोे ढुवानी नगर्ने सङ्घले बताएका हुन् ।

सङ्घका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेको छ । त्यस्तै सङ्घले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो ।

तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत बेवास्ता भएको भन्दै सङ्घले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको छ ।

सङ्घले अत्यावश्यक सेवालाई पुनः सञ्चालन गर्न अग्रपङ्क्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीले खोप नपाएको जनाउँदै उपलब्ध गराउन आग्रह गरेको हो ।

 

यहाँ कमेन्ट गर्नुहोस्