ठूला दलहरुको त्यागले ठूला परिवर्तन भएको हो प्रधानमन्त्री : प्रचण्ड

०७ असार काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरुको त्यागले ठूला–ठूला परिवर्तन भएकाले उनीहरुलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भनिएका व्यक्तिलाई नेपालमा केहि गर्छौ भन्ने ठाँउ पुराना दल र नेताहरुले दिएको बताउनुभयो । नेपालमा राजनीतिक पार्टी र नेताहरुको दशकौको संघर्ष र बलिदानपछि लोकतान्त्रीक गणतन्त्रको युगमा नेपाल प्रवेश गरेको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सवै नेता उस्तै हुन् र नेपालमा केहि हुँदैन भन्ने गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरुले देशको हित नचाहेको बताउनुभयो ।

उहाले नयाँ आएका दलहरुले पुराना दल र नेताहरुको प्रसंसा गर्नुपर्नेमा अपमान गर्ने प्रवृत्ति देखेको धारणा राख्नुभयो । क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजीएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाले नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डो¥याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्