२४ जेष्ठ काठमाण्डौ । नेपाली कांग्रेसले गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चूनौति दिएको छ ।
बिहिबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणका कांग्रेसमाथि बिभिन्न आरोप लगाउने प्रयास भएको भन्दै उक्त प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चूनौति दिनुभएको हो ।
कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने एमाले अध्यक्षको अभिव्यक्ति प्रमाणित गर्न र कांग्रेसलाई दण्डित गर्न उहाले गृहमन्त्रीलाई आग्रह समेत गर्नुभयो । शर्माले गिरिबन्धुको फाइल खोल्न नभइ यस बिषयमा बोल्न समेत गृहमन्त्रीले नसक्ने तर्क गर्नुभयो । उहाले गिरिबन्धुमा बिषयमा एमालेले कांग्रेसमाथि आरोप लगाएपछि त्यसको जवाफ मात्रै आफुहरुले दिएको बताउनुभयो ।
त्यस्तै शर्माले सहकारी प्रकरणमा गठित छानविन समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नभएपनि गोर्खा मिडियाको अपचलन भन्ने शव्दले गृहमन्त्रीमाथि पनि छानविन हुने जिकिर गर्नुभयो । उहाले देशको प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा संख्यातन्त्रको जीत भएको र सभामुखले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्नुभयो ।
कांग्रेस महामन्त्री शर्माले न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन काठमाडौं महानगरले गरेको काम ठिक रहेको भन्दै संघको सरकारले हस्तक्षेप गर्न नहुने बताउनुभयो ।