१४ जेठ, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले आफुहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले पार्टीले अघि सारेको ४० बुँदे मागका बारेमा प्रधानमन्त्रीलाई पुन ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले भ्रष्टाचार लगायतका जनजीविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय गरेको छ । गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका कुराहरु बाहिर आइरहेको अवस्थामा नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन समेत माग गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
उहाले बिपक्षीको विरोधकाबीच जवरजस्त संसद चलाउने कदमको विरोध गर्ने निर्णय भएको बताउनुभयो । बैठकले प्रतिपक्षीको मागलाई वेवास्ता गर्दै जवरजस्त संसद चलाउनु र धमाधम आफू खुसी निर्णयहरु गर्दै जानु संसदीय मूल्यमान्यता र परम्परा बिपरित रहेको ठहर गरेको उहाको भनाइ छ । अध्यक्ष लिङ्लनले पार्टीका सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर सफाइ पेश गर्न पनि निर्देशन दिएको जानकारी दिनुभयो ।
बैठकले राजनीतिक कार्यपत्र, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको उहाले बताउनुभयो । बैठकले गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेको त्यसको श्वेतपत्र जारी गर्न माग गरेको छ भने किसानलाइ समयमा नै मल विउ प्राप्त हुने व्यवस्था गर्न पनि माग गरेको छ ।