चैत्र ५ महोत्तरी___ मधेशका चुरे क्षेत्रमा जताततै आगलागी हुँदा चराचुरुङ्गी तथा वन्यजन्तुमा संकट सिर्जना भएको छ। नयाँ घाँस पलाउने र बिषालु सर्प तथा किरा, फटयांग्रा नष्ट गर्ने उद्देश्यले वनमा नियतबस लगाइएको डडेलो र हावाहुरीको कारण लाग्ने डढेलोले चरम संकट सिर्जना भएको हो। पछिल्लो समय धनुषा, महोत्तरी र सर्लाहीका जंगलमा आगलागी कै कारण सयौ वन्यजन्तु र चराचुरुङ्गी मृत अवस्थामा भेटिएका छन् भने मानववस्ती नजिक भएको गाउँमा धनजनको क्षति समेत भएको देखिएको छ।
मौसम परिवर्तनसगैँ वन क्षेत्रमा फैलिएको आगलागी नियन्त्रण भन्दा बाहिर गएको वन संवद्ध सरोकारवाला अधिकारीहरूले बताएका छन्। तथ्यांकअनुसार मधेश प्रदेशको ९ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६३ हजार ६३० हेक्टर क्षेत्रफल वन अन्तर्गत पर्दछ।अहिलेसम्म प्रदेशको २४ भन्दा बढी ठाउँमा आगलागी भएको पाईएको छ । जस्ले २ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा करौडौ वनसम्पदाको नोक्सान भएको छ भने हजारौ चराहरु र वन्यजन्तु नष्ट भएका छन्।
यत्रतत्र भएको आगलागीलाई बनका कर्मचारीहरुको सक्रियतापूर्वक बस्ती तथा वनपैदावर सम्पदाहरु जोगाएता पनि मौसम प्रतिकुलताले आगलागी नियन्त्रण भन्दा बाहिर गएको महोत्तरी जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले बताए। तर, सिमित स्रोत साधनको यथेष्ट प्रयोगवाट आफुहरु वन जोगाउन निरन्तर लागेको उन्को भनाई छ।
विहिवार देखि धनुषाधाम स्थित संरक्षित वनमा लागेको आगो पुर्णरुपमा नियन्त्रणमा नआउदै महोत्तरीको लक्ष्मीनियामा पनि लागेको आगलागी २८ घण्टापछि नियन्त्रणमा आएको छ। यो ठाउँमा वन्यजन्तु तथा चराचुरुङ्गीहरुमा ठूलो असर परेको र कयौ वन्यजन्तु तथा चराचुरुङ्गी विस्थापन समेत वनेको कर्मचारीहरु बताउँछन्। बर्दिवास, गौशाला र रामगोपालपुर नगरपालिकावाट बारुणयन्त्र तथा जेसिविको प्रयोग गरेतापनी अझै खतरा भन्ने उन्मुलन नभएको स्थानियहरुको भनाई छ।
आगलागीवाट घाटगद्दी गरेर राखिएको झन्डै १५ लाख बराबरको काठ जलेर नष्ट भएको छ भने कयौ जिवजन्तु तथा चराचुरुङ्गी जलेर मरेको देखिएका छन्। यसैको परिणामस्वरूप अहिले गाउँमा बादर आतंक वढेको स्थानियहरुको गुनासो छ। तर आगलागीको भयावह अवस्थालाई तत्काल पहलकदमी लिएर वन कार्यालय प्रमुख र वनका कर्मचारीहरुले निर्वाह गरेको भुमिका निक्कै प्रसंसायोग्य भएको स्थानीय योगेन प्रसाद गुप्ताले बताए।
मधेशको कुल वन क्षेत्रफल मध्ये १७ हजार ८ सय ४३ हेक्टर अतिक्रमणमा परेको देखिएको छ भने डढेलोको कारण जैविक विविधता र पारस्थितिक प्रणालीमा गम्भीर असर देखा परेको जानकारहरूको निष्कर्ष छ। अझ डढेलोको कारण नाङ्गो भएको जंगलमा अतिक्रमण गरेर घर टहरा समेत निर्माण गरिएका छन्। भू-माफियाको चलखेल र जंगल क्षेत्र निशानामा पर्दा विशेषगरि महोत्तरीको उत्तरी क्षेत्रको चुरे जंगल नासिदै र मासिदै आएको स्थानीयहरू बताउँछन्।
मधेशको चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी, ३७९ प्रकारका चराचुरुङ्गी पाइने एक तथ्यांकले देखाएको छ तर वनमा दिनहु डढेलो बढदै जाँदा यिनिहरूको अस्तित्वमा गम्भीर चुनौती खडा भएको छ। अस्टिन र वेसिंगरले सन् १९५५ र डायरनेस समेतका अनुसन्धानकर्ताहरूले सन् १९५७ मा गरेको अध्ययनको निष्कर्ष वन डढेलोबाट जमिनको सतहमा रहेका जैविक पदार्थहरू नष्ट हुने हुँदा वर्षायाममा पानीको बहाव तीव्र हुने बताइएको छ। माटोले पानी सोस्ने क्षमता कम हुने, पानी बाष्पीकरण भई हावामा परिवर्तन हुने गरेको छ। डढेलो कै कारण जमिनको पानी सञ्चिति क्षमतामा कमी आउने अध्यनको निष्कर्ष छ।
वर्षामा पानी बाढीका रूपमा उर्लेर तल्लो तटीय क्षेत्रमा बग्ने र हिउँदमा नदी र खोलामा पानी सुक्ने अवस्था हुन्छ। त्यसैले हिउँदमा नेपालका पहाडमा लाग्ने डढेलोले वर्षायाममा नेपालको तराई र भारतलाई पोल्छ । डढेलो लाग्दा जल्ने पातपतिंगरले वर्षामा पानीको गतिलाई रोक्न र माटोमा पानी छिर्नका लागि मद्दत गर्छ। तर एक पटक डढेलो लाग्यो भने यसको असर १८–१९ वर्षसम्म पर्छ भन्ने वैज्ञानिक अनुसन्धानको निष्कर्ष रहेको छ। तर नेपालमा हरेक वर्ष डढेलो लाग्ने र बाढी कम गर्ने हो भने वन डढेलो नियन्त्रण गर्नुपर्ने अध्यणले निष्कर्ष निकालेको छ।