प्रधानमन्त्री प्रचण्डले अब ३० दिनभित्र विश्वासको मत लिनु पर्ने

फागुन २२ काठमाण्डौं ___  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाको नयाँ गठबन्धन बनेसँगै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रचण्डले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ । २०७९ पुस २६ र चैत्र ६ गते दुईपटक विश्वासको मत लिएका प्रचण्डले तेस्रोपटक संसद्‌मा विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

विश्वासको मत जित्न प्रतिनिधि सभामा १३८ सांसदको मत आवश्यक पर्छ । सोमवार नयाँ गठबन्धन बनाउने सहमतिमा हस्ताक्षर गरेका चार दल मिल्दा प्रतिनिधि सभामा मुस्किलको बहुमत पुग्छ । अर्थात् मुस्किलले बहुमत जुट्छ । ‘कम्फरटेबल’ बहुमत पुर्‍याउन प्रचण्डले संसद्‌मा १० सिट रहेको नेकपा एस र अन्य साना दललाई समेत सरकारमा ल्याउने प्रयास गरिरहेका छन् ।

संसद्‌मा एमालेका ७६, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ र जसपाका १२ गर्दा १४१ सांसद पुग्छन् । एमालेले गत निर्वाचनमा ७९ सिट जिते पनि टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा छ, देवराज घिमिरे सभामुख छन् । त्यस्तै इलाम २ बाट जितेका सुवास नेम्वाङको निधन भएपछि एमालेका ७६ मात्रै सांसद छन् ।

जनता समाजवादीका १२ सांसद छन् । यसैले मुस्किलको बहुमतबाट सहज बनाउन १० सिटको नेकपा एस, ६ सिटको जनमत र ४/४ सिटको लोसपा र नागरिक उन्मुक्तिलाई पनि मिलाउनुपर्ने हुन्छ । आफूलाई भाउ नदिएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीले नेपाललाई मनाउने प्रयास गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले माधव नेपाल पनि सरकारमा आउने विश्वास गरे । ‘दुवै अध्यक्ष (प्रचण्ड र ओली)ले फोन गर्नु भएको छ, माधव नेपाल सरकारमा आउनु हुन्छ हाम्रो विश्वास छ’ आचार्यले भने । सोमवार ८ बुँदे सहमति गरेका ४ दलसँग (७६, ३२, २१ र १२) १४१ सिट छ । यसका अलावा प्रचण्डले साना दलको समर्थन पाउने विश्वास राखेका छन् । उनले साना दलसँग संवाद गरिरहेका छन् ।

४ सिट रहेको रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने निश्चित भएको छ । यसअघि पनि नागरिक उन्मुक्ति सरकारमा थियो । ६ सिट रहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा जाने सम्भावना छ । जनमत यसअघि पनि सरकारमा थियो ।प्रतिनिधि सभामा ४ सीट रहेको लोसपा अहिले अनिर्णित छ ।

कांग्रेससँगको गठबन्धन गर्दा प्रचण्ड सरकारमा सहभागी भएको लोसपा अहिले पर्ख र हेरको रणनीतिमा छ । प्रचण्डले मंगलवार बिहान लोसपा अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरे पनि कुनै सहमति भने भएको छैन । स्वतन्त्र चुनाव जितेका प्रभु साह र डा. अमरेशकुमार सिंहले समेत प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । जनमत, नागरिक उन्मुक्तिले विश्वासको मत दिँदा प्रचण्डको पक्षमा १५० सीट पुग्छ ।

‘नेपाली कांग्रेस र राप्रपा बाहेक संसद्‌का सबै दलले विश्वासको मत दिन्छन् भन्ने हाम्रो विश्वास छ’ माओवादीका एक नेताले भने । प्रतिनिधि सभामा कांग्रेसका ८८ र राप्रपाका १४ सांसद छन् ।१/१ सांसद रहेका नेपाल मजदुर किसान पार्टीले विपक्षमा उभिने संकेत गरेको छ भने राष्ट्रिय जनमोर्चाले अहिलेसम्म धारणा बनाएको छैन ।​ गतवर्ष एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा जनमोर्चाले विपक्षमा मतदान गरेको थियो भने कांग्रेससँग मिल्दा पक्षमा मतदान गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्