फागुन १९ काठमाण्डौ___ भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरूको अवस्था दयनीय बन्दै गएको छ । माघ १६ गते पूर्व र पश्चिमबाट पैदलयात्रा शुरु गरेका पीडितहरू काठमाण्डौमा आएको पनि १० दिन भइसकेको छ । तर पनि सरकारले समाधानको बाटो ननिकाल्दा पीडितहरूको अवस्था बिग्रँदै गएको हो ।
भृकुटीमण्डपमा त्रिपालमुनि बसेका पीडितहरू चिसो र भोकले गल्दै गएका छन् । पीडितहरूमा झाडापखाला र रुघाखोकीको प्रकोप फैलँदो छ भने कतिपयलाई कुकुरले टोकेको छ । पीडितहरूलाई दिनमा एक पटक दालभातको व्यवस्था छ ।
पैसा हुनेले चिउरा, भुजिया लगायत किनेर खाए पनि धेरै भोकभोकै बस्ने गरेका छन् । भृकुटीमण्डपमा रहेको सार्वजनिक शौचालयमा पैसा तिर्नुपर्छ । पैसा नभएकोले लामो समयसम्म पिसाब च्यापेरै बस्नुपरेको पीडित शेख मुस्तफाले बताउनुभयो । २३ दिन हिँडेर काठमाण्डौ आएकाहरूको गोडामा फोका उठ्नुको साथै सुन्निएको छ । बाटोमा भएको आक्रमणमा केही पीडितहरू घाइते पनि बनेका छन् ।
पीडितहरूले सरकारसँग छ बुँदे माग राखेका छन् । उनीहरूका माग अदालतसँग सम्बन्धित रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । तर समाधानको पहल देखिएको छैन । सरकारले मिटरब्याज लिनेविरुद्ध कानुन बनाए पनि विगतमा ऋण लिनेहरूको विषयमा निर्णय नहुँदा कानुनी समस्या परेको हो ।