वीरगञ्ज, ३१ बैशाख । वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुको सूचिमा एउटा अर्काे अस्पताल पनि थपिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित श्रीराम हल पछाडी रहेको वीरगञ्ज मेट्रोसिटी हस्पिटलले पनि कोरोना संक्रमितको उपचार सेवा सुचारु गरेको हो ।
बढ्दै गरेको कोरोना संक्रमितको संख्या र उपचारका लागि बेडको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व सम्झिएर कोभिड संक्रमितको उपचार शुरु गरिएको अस्पतालका सञ्चालक धर्मेन्द्र चौरसीयाले बताए । अरु अस्पतालमा कोरोना संक्रमितहरुलाई नै राख्ने ठाउँको अभाव भइरहेको समयमा वीरगञ्ज मेट्रोसिटी हस्पिटल (बिएमएच) ले संक्रमितका कुरुवाको लागि पनि अट्याचबाथसहितको छुट्टै आइसोलेटेड कोठाको व्यवस्था गरेको छ । जसका कारण संक्रमितमात्रै नभएर संक्रमितका कुरुवा पनि सन्तुष्टि हुन्छन् ।
संक्रमितहरुलाई बिहान ८ बजे खाजा, दिउँसो १२ बजे खाना, ३ बजे खाजा र राति ८ बजे खाना खुवाउन १५/१५ मिनेट मात्रै बस्न पाइने व्यवस्था हस्पिटलमा गरिएको छ । यस्तै कोही आफन्तहरु भेट्न आए अस्पतालकै फार्मेसीबाट व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) लगाएर १/१ जनाले मात्रै भेट्न पाउने नियम बनाइएको छ ।
सञ्चालक चौरसीयका अनुसार हाललाई १५ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टाइएको छ । हाल हस्पिटलमा ३ वटा भेन्टिलेटर रहेको र केही दिनभित्रै अरु ५ वटा भेन्टिलेटर पनि खरिदको प्रक्रिया अघि बढाइएको चौरसीयाले बताए । उनले भने, ‘अरु अस्पतालहरुमा प्रायः पुराना प्रयोग भइसकेका भेन्टिलेटर जडान गर्छन् तर हामीले नयाँ खरिद गरेका सञ्चालन गरेका छौँ । अँझै केही दिनभित्रै ५ वटा आउँदै छन् ।’ उनले थपे, ‘बिएमएचमा अक्सिजनको अभाव र भेन्टिलेटर नपाएर कसैले ज्यान गुमाउनु पर्दैन ।’
हाल अस्पतालमा २० वटा ठूलो र १२ वटा सानो अक्सिजन रहेको छ । आवश्यक्ताअनुसार अक्सिजन ल्याउने बताउँदै चौरसीया थप्छन्, ‘अरु अस्पतालहरुले पैँसा कमाउनका लागि पनि क्षमताभन्दा धेरै बिरामी भर्ना गर्छन्, तर सेवा सुविधा दिन सक्तैनन् । तर हामी क्षमताभन्दा बढी बिरामी भर्ना गर्दैनौ ।’
अस्पतालका कार्यकारी निर्देशक डा. पवन पटेलको नेतृत्वमा ८ जना मेडिकल अफिसर (एमबिबिएस डाक्टर), नर्स, १२ जना सिएमए लगायतको टोलीले उपचार दिने अस्पतालका व्यवस्थापक डा. पशुपति भट्टले जानकारी दिए ।