पौष २८ काठमाण्डौं ___राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयनसम्बन्धी कानुन तत्काल बनाउन दलहरूको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतालाई शुक्रबार शीतलनिवासमा बोलाएर राष्ट्रपति पौडेलले प्रदेशको अधिकारसम्बन्धी कानुन निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रपतिको बोलावटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । संघीय निजामती, संघीय प्रहरी, संघीय शिक्षालगायत संघीय कार्यान्वयनसम्बन्धी ऐन माग्दै प्रदेश सरकारहरूले केन्द्रमा दबाब बढाएका छन् ।
दलहरूले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुनहरू पनि मिलेर बनाउन ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । भेटमा राष्ट्रपति पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न शीर्ष नेताहरूको ध्यानाकर्षण गराएको प्रेस सल्लाहकार पोखरेलले बताए । ‘निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरूको ध्यानाकर्षण गराउनुभयो,’ उनले भने ।
भेटमा नेताहरूले संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण कानुनहरू आगामी अधिवेशनमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा निर्वाचनपछि हिउँदे अधिवेशन आह्वान गर्ने तयारी रहेको जानकारी गराउँदै संघीय कानुन बनाएर प्रदेशहरूलाई अधिकार प्रत्यायोजन गर्न र संघीयतालाई अक्षरशः पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सुशासनको सवालमा सरकार दृढ रहेको भन्दै प्रचण्डले त्रिविको उपकुलपति नियुक्तिमा सुधारका लागि मापदण्ड परिमार्जन गरेर सार्वजनिक सूचना जारी गरिएको पनि जानकारी गराएका थिए । कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई सकारात्मक रूपमा लिँदै मुलुकका साझा एजेन्डामा मिलेर जाने प्रतिबद्धता जनाएको राष्ट्रपति कार्यालयले जनाएको छ । सभार : नयाँ पत्रिका