पौष २७ काठमाडौं ___ मानव अधिकार उल्लंघनको घटनामा संलग्न चार प्रमुख जिल्ला अधिकारी र १२ प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसका आधारमा कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । एक व्यक्तिलाई पटकपटक पक्राउ गरी गैरकानुनी हिरासतमा थुनामा राखेको आधारमा आयोगले त्यसमा संलग्नहरुमाथि कारबाही हुन लागेको हो ।
उदयपुर, खोटाङ, सिरहा र सोलुखुम्बुका तत्कालिन सिडिओ र प्रहरीमाथि विभागीय कारबाही हुन लागेको हो । नेपाल कम्युनिष्ट पार्टीका नेता चक्रबहादुर खत्रीलाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखेको अभियोग उनीहरुमाथि छ । सिरहाका तत्कालिन सिडिओ सरोज प्रसाद गुरागाई, खोटाङका तत्कालिन सिडिओ शालिकराम शर्मा पौडेल, उदयपुरका दीपक पहाडी र सोलुखुम्बुकी रमा आचार्यमाथि विभागीय कारबाही हुने भएको छ ।
त्यस्तै, सिरहाका तत्कालिन एसपी उमा चतुर्वेदी, खोटाङका डिएसपी नारायण चिमोरिया, सोलुखुम्बुका डिएसपी टेकुनन्द इवा लिम्बु, जिप्रका खोटाङका इन्सपेक्टर गोविन्द शाह, सोलेखुम्बुका इन्सपेक्टर महेन्द्र दर्नाल, सिराहका इन्सपेक्टर दीपेन्द्र श्रेष्ठ पनि कारबाहीमा पर्ने भएका छन् । उयदपुरका सई श्याम राउत, सोलुखुम्बुका असई असई नवराज दाहाल, उदयपुरका असइ ऋषी खनाल, खोटाङका असइ राजन नेपाल, सिरहाका असइ रामकुमार यादब र उदयपुरका हवल्दार भुवनसिंह कार्कीमाथि कारबाही हुने भएको हो ।
२०६६ र २०७७ सालमा उनीहरुले ६ पटक खत्रीलाई पक्राउ गरेका थिए । अभियोगबिना नै पक्राउ गरेर थुनेको भन्दै आयोगले त्यसमा सिडिओ र प्रहरीको गल्ती रहेको ठहर गरेको हो । उनीहरुमाथि कारबाही गर्न आयोगले फेरि सरकारलाई ताकेता गरेपछि प्रधानमन्त्री कार्यालयले गृहलाई पत्राचार गरेको हो । खत्रीलाई एक लाख क्षतीपुर्ती दिन पनि प्रधानमन्त्री कार्यालयले सिफारिस गरेको छ ।