आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न माग गरिन

पौष २६ काठमाण्डौं ___ नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्राेत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले विवाह गर्नका लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने जिकिर गर्नुभयाे । यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाहका लागि लाइसेन्स लिन राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ ।

यो एउटा चलन किन शुरु नगर्ने त ? विवाह दर्ता गर्नुभन्दा पहिला नै लाइसेन्स लिनुपर्‍याे । त्यो बेला नागरिकता हुनैपर्‍याे । यो भयो भने मायामा फसाएर विवाह गर्ने क्रम पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक हुन्छ ।’

नेत्री राणाले धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयाे । उहाँले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरू रोक्नका लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताउनुभयो । राणाले नेपालका पहाडी जिल्लाहरूमा विद्यालय अध्ययनकै क्रममा धेरै विद्यार्थीहरूले विवाह गर्ने गरेको बताउनुभयो । उहाँले कम उमेरमा विवाह गर्नेहरूलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्