कांग्रेसले राष्ट्रिय सभामा अवसर नपाएकालाई प्राथमिकतामा राख्ने

पौष १५ काठमाण्डौं___नेपाली कांग्रेसले आउँदो राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।हिजो अबेर सकिएको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको हो ।पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १२ गतेदेखि बैठक बसेको थियो ।

बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आउँदो माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

पार्टीमा पटक पटक अवसर पाएका, गएको चुनावमा उम्मेदवार भएर पनि पराजित भएका तथा समानुपातिकतर्फ उम्मेदवार बनेका नेताहरुले राष्ट्रिय सभामा इच्छा देखाएपछि बैठकमा नेताहरुले नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग गरेका थिए । केन्द्रीय सदस्यहरुको दबाबपछि बैठकले अवसर नपाएका नेताहरुलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । त्यस्तै, सरकारको एक वर्षको कामलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले खुलेर आलोचना गरेका छन् । सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र आम नागरिकका सुशासनको प्रत्याभूति हुने खालका सेवा प्रदान गर्न बैठकले सरकारसँग माग गरेको छ ।

शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न, घाइतेको उपचार गर्न र परिवारजनमा परेको क्षतिका बारेमा विशेष निर्णय लिन बैठकले माग गरेको नेता विश्वकर्माले बताउनुभयो । बैठकले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि एक हजार अस्थायी आवास निर्माण सम्पन्न भएकोमा सबै नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्