कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिने

असोज २० विराटनगर___ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठक सुरु हुनुअघि बसेको एमाले संसदीय दलको बैठकले पदबाट राजीनामा दिने निर्णय गरेको हो । एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले राजीनामा दिने निर्णय भएको पुष्टि गरे । विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री कार्की राजीनामा दिने पक्षमा पुगेका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले अहिले कसैले पनि मध्यावधि निर्वाचन नचाहेको बताएका छन्। शनिबार कोशी प्रदेशमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै उनले जनताले निर्वाचनको माग नराखेको र नचाहेको बताए। उनले दलहरूले आफ्नो अडान राखिरहने हो भने केही समयमै मध्यावधि निर्वाचनमा जानुपर्ने परिस्थिति आउने उनले बताए।

‘नेकपा एमालेले के कस्तो त्याग गर्दा सहमति र सहकार्यको अवस्था सिर्जना हुन्छ, र तत्काल मध्यावधि निर्वाचन रोकिन्छ, त्यस कुरामा नेकपा एमाले दुई हात उठाएर सहयोग गर्न तयार छ। अरु पनि पनि त्यो ढंगले आउनुपर्‍यो भन्ने आग्रह गर्न चाहन्छु’, उनले भने।

उनले आफू र एमालेले मात्रै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा नरहेको पनि बताए। कार्की सर्वोच्च अदालतको परमादेश अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनी प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्