काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बहुमत जुटाउन सकस

भाद्र २३ विराटनगर ___ काेशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउने प्रयास हुने बताउनुभएको छ । हिजो मुख्यमन्त्री नियुक्त भएर शपथ लिएलगत्तै उहाँले कांग्रेस, एमालेसहितका दलहरु मिलेर सहमतिको सरकार बन्ने सम्भावना बलियो रहेको दाबी गर्नुभयो । सबै दल मिलेर सहमतिको सरकार बनाउने पहिलो प्रयास हुने उहाँको भनाइ छ । सर्वोच्च अदालतको परमादेशअनुसार, कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाले प्राप्त गरेको विश्वासको मत सर्वोच्चले बदर गरेको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजम संयुक्त सरकारका मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न नसकेको ठहर भएपछि उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री कार्कीले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यसअघि पहिलो कार्यकालमा बहुमत सिद्ध गर्न नसकेर सत्ताबाट बाहिरिनु परेका कार्कीले फेरि बहुमत जुटाउन कठिन छ ।

कांग्रेससहितको गठबन्धन दलले फेरि आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास हुने बताएका छन् । राप्रपाले पनि एमालेलाई सहयोग गर्ने या नगर्ने अझै अन्योल छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन् ।

यहाँ कमेन्ट गर्नुहोस्