साउन १ काठमाडौँ __ १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सो हत्याकाण्डको फाइल खोल्न माग गरेका छन् । साथै उनीहरुले साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरुले साउन २ देखि १२ गतेसम्म रौतहटका पालिकाहरुमा हत्याकाण्डबारे जानकारी र अन्तरक्रिया, साउन १३ गते सहिद तथा पीडित परिवारबाट धर्ना, साउन १४ गते मोटरसाइकल र्याली र १५ गतेबाट अनिश्चितकालिन रौतहट बन्दका कार्यक्रम सार्वजनिक गरेको छ ।सोमबार गौर हत्या काण्ड संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरमा नल्याएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ ।
संघर्ष समितिका संयोजक रुपसागर देवीले अमानवीय र बीभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारालाई वर्षौसम्म पनि अनुसन्धानको दायरामा नल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडी नै खुलेआम हिँडिरहेको देख्नुपर्दा आफूहरूलाई थप पीडा भएको जनाएका छन् । ‘अमानवीय र बीभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजिम अविलम्ब कारबाही गर्न हामी पीडितहरुलाई अपराध पीडितको हक, न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौ’, संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
२०६३ साल चैत सात गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ताबीच भएको झडपमा २७ जना सर्वसाधारणको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।