असार २८ काठमाण्डौ___राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक-२०८० लाई पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
उक्त विधेयक पारित गर्नुअघि राष्ट्रिय सभामा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ मन्त्री डा. महतले दिएका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो ।
संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गते (सोमबार)देखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । राष्ट्रियसभाको अर्को बैठक आजै १३ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्