२० जेठ काठमाण्डौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध भएन भने जटिल अवस्था रहिरहने चेतावनी दिएको छ।
डब्लूएचओका नेपाल प्रमुख डा.राजेश शम्भाजिराव पाण्डवले एक भिडिओ जारी गर्दै खोपको मौज्दात भएका देशहरुलाई यथाशक्य चाँडो नेपाललाई खोप उपलब्ध गराउन अपिल गरेका छन्। यो हाल देखिएको अभावलाई पूर्ति गर्ने तत्कालिक उपाय हुने र कोभ्यासबाट प्राप्त हुने खोपहरुलाई उपलब्ध गराउन प्रयासहरु जारी रहने उनको भनाई छ।
उनले एसियाली क्षेत्रमा नयाँ भेरियन्ट देखिँदै गरेको र तीव्र गतिमा खोपको विस्तार बढाउनका लागि भरपर्दो आपूर्तिको अभाव रहेको अवस्थामा पुन: संक्रमण वृद्धि हुने अत्याधिक सम्भावना समेतरहेको बताएका छन् ।
नेपालमा संक्रमणदर ३५ प्रतिशत रहेको बताउँदै यो धेरै भएको प्रष्ट्याएका छन्। ‘नेपालमा कुनै जिल्ला छैन जहाँ संक्रमण र मृत्यु नभएको होस्,’ उनले भनेका छन्।
केही सहरमा अवस्था सुधार भएको देखिए पनि संक्रमण ग्रमीण क्षेत्रमा फैलिएको भिडियोमा भनिएको छ।
‘नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी चाप भोगिरहेको छ। संक्रमितको संख्या वृद्धि हुँदा अत्यावश्यक सामग्री र मानव संशाधनको चरम अभाव भएको छ’, पाण्डवले भनेका छन्, ‘स्वास्थ्यकर्मीहरु थकाई सहँदै र कतिपय अवस्थामा आफैँ संक्रमित भएर पनि काम गर्न बाध्य छन्।’
महामारीको अर्को लहरका लागि नेपाल तयार छ भन्ने सुनिश्चित गर्नका लागि सर्च क्षमतालाई तुरुन्त विस्तार गर्न उनको सुझाव छ। त्यसका लागि अन्तर्राष्ट्रिय साझेदार र अन्य देशको समर्पित सहयोगको आवश्यक पर्ने उनको भनाई छ ।
अक्सिजन अभावका कारण विरामीका ज्यान गएका हृदय वितारक दृष्यले नेपालको अवस्थाको जटिलता सम्झाउने उनले बताएका छन्। संक्रमित विस्तार भएका स्थान र सीमानाकामा कडा तर मानवीय क्वारेन्टिन आवश्यक रहेको उनको भनाई छ।
भिडिओ :